धनुषाको मिथिला विहारी नगरपालिका ४ बाट हत्या अभियोगमा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले मिथिला बिहारी ४ का ४१ वर्षीय लालबाबु यादव र ३१ वर्षीय सुरेश यादवलाई पक्राउ गरेको जनाएको छ ।
५३ वर्षीय प्रभु यादव र ४२ वर्षीय सुरज यादवबीच जग्गा जमिनको विषयमा विवाद हुँदा बिहीबार राति प्रभु यादवको मृत्यु भएको हो । कुटपिटबाट गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
बिहीबार राति खाना खाएर बसिरहेका बेला सुरज यादव समूहले आएर प्रभु यादव र उनका परिवारमाथि कुटपिट गरेको प्रत्यक्षदर्शीले बताएका छन् । त्यसक्रममा अन्य तीन जना पनि घाइते भएको प्रहरीले जनाएको छ ।
उनीहरूविरुद्ध कर्तव्य ज्यान मुद्दा दर्ता गरी अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय धनुषाले जानकारी दिएको छ ।
खेतको आलीको विषयमा दुई महिनादेखि उनीहरुबीच विवाद हुँदै आएको प्रारम्भिक अनुसन्धानमा देखिएको धनुषाका प्रहरी नायव उपरीक्षक दिपक रायले जानकारी दिए ।