वैशाख २३ गते शुक्रवार, घरमा मान्छे भरिभराउ थिए । आफ्नो छोरीलाई अन्माउने तरखरमा थिए झापा मेचीनगर नगरापालिका– १७ ज्यामिरगढीका एक दम्पती । उनीहरूले आफ्नो छोरीको विवाह झापा गाउँपालिका टाघनडुब्बाका गनगाई थरका युवकसँग गरिदिएका थिए । वैवाहिक कार्यक्रम चलिरहेको थियो । एक्कासि पाहुनाहरूले गाँइ गुइं गरेको आवाज बुवा आमाको कानमा पर्यो ।
दाइजोमा मोटरसाइकल नदिएको भन्दै बेहुलाले विवाह गर्न अस्वीकार गरे । सुरुमा केटी पक्षबाट फर्निचर र केही सुन दिने सहमति भएको थियो तर मण्डपमै एक्कासि मोटरसाइकल मागेपछि बेलुकीको बुवा आमा छाँगाबाट खसे जस्तै भए । विवाहमै वादविवाद भयो । केटी पक्षले सुरुमै मोटरसाइकल दिन नसक्ने कुरा गरेको थियो । केटा पक्ष पनि राजी थिए तर एक्कासि विवाह रोकियो । केटी पक्षले प्रहरी बोलाएर बेहुलालाई पक्राउ गर्यो ।
यो त केवल एउटा उदाहरण मात्र हो । अहिले दाइजो प्रथाले हाम्रो समाजमा विकराल स्थिति निम्त्याएको छ । दाइजो नदिएकै कारण केही बुवा आमा आत्महत्या गर्न बाध्य भएका छन् भने केही छोरीहरूको अकालमा नै ज्यान गएको छ ।
केही दशक अघिसम्म साइकल, घडी, केही फर्निचर र सुन मात्र दिने चलन थियो भने अहिले आफ्ना शिक्षित छोरीको विवाहका लागि जिन्सी, गरगहनासँगै लाखौँ रुपैयाँ दाइजोका रूपमा दिनुपर्ने बाध्यतामा अभिभावक छन् ।
छोरीलाई शिक्षित बनाएर आत्मनिर्भर बनाउनुको साथसाथै परम्परा धान्न र समाजमा ‘इज्जत बचाउन’ कै लागि भए पनि घर/घडेरी बिक्री गर्ने वा ऋण लिएर विवाह गर्न बाध्य भएका छन् अभिभावक । पछिल्लो समय दाइजोका रूपमा ५० लाख रुपैयाँ र जिन्सीसमेत माग्न थालेको उदाहरण हाम्रो सामु व्याप्त रहेका छन् ।
पछिल्लो समय दाइजो प्रथा एकदमै बढेको अभियन्ता तथा महिला अधिकारकर्मी रिता साह बताउँछिन् । उनी भन्छिन्, ‘कुनै ब्यक्ती छुटेको होला तर घर छुटेको छैन । दाइजो गोप्य हो, यो नितान्त दुई परिवारको विषय भएकोले छिमेकीलाई समेत थाहा हुँदैन । त्यहीँ भएर पनि केटा पक्षले भरसक धेरै पैसा माग्ने परम्परा बन्दै गएको छ । मध्यम वर्गमा छोरीलाई पढाई लेखाइ सक्षम बनाउने चलन नभएको होइन । तर, त्यति हुँदाहुँदै पनि बिहेमा दिइने दाइजोको चिन्ताले भने अभिभावकलाई बढी नै पिरोल्ने गरेको छ ।’
काठमाडौँमा घर नकिन्दिएको निहुँमा घरेलु हिंसा सहेर बाच्न बाध्य भएकी महोत्तरीकी नेहा चौधरीको व्यथा पनि कम छैन । छोरीको खुसीको लागि भनेर केटा पक्षको माग अनुसार २० तोला सुन, फर्निचर र अन्य सामान गरेर १ करोड २५ लाख खर्च गरेर विवाह गर्न बाध्य भए अभिभावक ।
काठमाडौँमा घर नदिएको भन्दै डाक्टरले गरे श्रीमतीमाथि कुटपिट !
‘आफूले माया गरेको मान्छेसँग जिन्दगी बिताउने सपना सँगालेर विवाह गरेको थिए,...
सोमबार, कात्तिक २८ २०७९डाक्टरसमेत रहेका श्रीमान् र उनको परिवारले दिनरात कुटिपिट गरेपछि अहिले उनी माइतमा नै बसेर उपचाररत छिन् । उनको श्रीमानले सम्बन्ध विच्छेद मागेकोले उनी माइतीमा नै बसेर मुद्दा पनि लडिरहेकी छन् ।
महिला हिंसाको लागि शिक्षा सचेतना भनेता पनि दाइजोमा यो कुरा लागु नहुने साह बताउँछिन् । नेहा चौधरीको उदाहरण दिँदै साह भन्छिन्, ‘जति धेरै शिक्षित र सचेतना भएका व्यक्तिहरू छन् त्यति नै धेरै दाइजो लिने गरेका छन् । जति धेरै पढ्यो त्यति धेरै दाइजो लिने चलन बढेर गएको छ । जुन गलत हो ।’
दाइजो प्रथा कानुनी रूपमा बन्देज छ भन्ने कुरा धेरैलाई थाहा छैन । कानुन किताबमा मात्र भएकोले धेरै आमा बुवा आत्महत्या गर्न समेत बाध्य भएका छन् । कानुनको बारेमा सचेतना र सूचना हुनुपर्नेमा साहको जोड छ ।
‘अझै पनि धेरै ठाउँमा केटाको पढाई र जागिरलाई दाइजोको मानकको रूपमा लिने गरिएको छ । जुन कुरा नेहा चौधरीको प्रकरणबाट प्रस्ट हुन्छ । जति धेरै पढाइ वा जागिरको कमाइ, उति नै धेरै दाइजो ! सामान्यतः शिक्षालाई सामाजिक समस्या विवरणका लागि द्योतकका रूपमा लिइन्छ। शिक्षित परिवारभित्र पनि दाइजो प्रथालाई प्रश्रय दिइनाले समाजमा यसले विकराल रूप लिएको छ।’ उनले भनिन् ।
दाइजो रोक्न एउटा गोप्य मेकानिजम बनाउनु पर्ने साह बताउँछिन् । उनी भन्छिन्, ‘कुनै पनि बुवा आमालाई दाइजो पैसा दिने रहर हुँदैन । यो लेनदेन कसरी हुन्छ भनेर एउटा गोप्य संयन्त्र बनाएर गोप्य रूपमा छानबिन गर्नु पर्छ ।’ अहिले विवाहमा धेरै खर्च गर्ने चलन छ । भारतीय परम्पराको सिको गरेर मेहेन्दी, हल्दी लगायतको कार्यक्रमहरू गर्छन्, विवाह भड्किलो गर्छन् र खर्च केटी पक्षलाई पैसा तिराउने चलन पनि बढ्न उनको भनाईं छ ।
छोरीहरूलाई उचित शिक्षा दिनुपर्छ । छोरीहरू शिक्षित र आत्मनिर्भर भएपछि उनीहरूले आफ्नो लागि आफैँ निर्णय गर्छन् । हाम्रो समाजमा दाइजो इज्जत प्रतिष्ठाको विषय बनेको छ । फलानोको घरकोले यति धेरै दाइजो दियो हामी किन नदिने भनेर इगोको रूपमा पनि लिन थालेको साहको भनाई छ । यो प्रथा सरुवा रोग सरह फैलिरहेको छ । यसलाई रोक्नको लागि सरकारले उचित पहल गर्नुपर्नेछ । दाइजो त पहिले देखि नै दिदैं आएको हो नि भनेर चलन भएको भन्दै उजुरी दिन डराउँछन् । छोरीहरू बरु पीडा सहेर बस्छन् तर केटा पक्षकोलाई केही भन्दैनन् । आफ्नो छोरी त्यहीँ घरमा छ, भोलि झन् दुःख दिने पो हुन् कि ? भनेर बुवा आमाले केटा पक्षले भनेको कुरा मान्न बाध्य हुन्छन् । उनले भनिन् ।
यो विषयमा छिमेकको मानिसहरू पनि बोल्न डराउँछन् उनीहरूलाई पनि भोलि आफ्नो छोरीको विवाह नहुने हो कि भन्ने डरले सताएर चुप चाप बस्ने गरेको उनको भनाई छ । ‘अब हामीले बिस्तारै दाइजो प्रथालाई बहिष्कार गर्दै लानु पर्छ । दाइजो लिने/दिने परिवारको विवाहमा नजाने गर्नु पर्छ ।’ उनले भनिन् ।
कानुन भन्छ: दाइजो लिनु अपराध हो
नेपालको कानुनले दाइजो लिनुलाई अपराध मानेको छ । मुलुक अपराध संहिता २०७४ को दफा १७४ मा ‘विवाहमा लेनदेन गर्न नहुने शीर्षक अन्तरगत दाइजो लिनुलाई दण्डनीय अपराध मानेको छ । उक्त दफाको उपदफा (१) मा लेखिएको छ ‘ आफ्नो परम्परादेखि चली आएको सामान्य उपहार, भेटी, दक्षिणा वा शरीरमा लगाएको एकसरो गहना बाहेक विवाह गर्ने दुलहा वा दुलहीका तर्फबाट कुनै किसिमको चल, अचल, दाइजो वा कुनै सम्पत्ति माग गरी वा लेनदेन सर्त राखी विवाह गर्न वा गराउन हुँदैन ।’
उपदफा (२) मा लेखिएको छ उपदफा (१) बमोजिमको कसुर गर्ने व्यक्तिलाई तीन वर्षसम्म कैद वा तीस हजार रुपैयाँसम्म जरिबाना वा दुवै सजाय हुनेछ ।
कानुनले विवाह मात्र हैन विवाहपछि पनि श्रीमती वा उनका नातेदारलाई दाइजो नदिएको कारण हैरान पार्ने, सताउने वा कुनै अमानवीय कार्य गर्न नपाइने उल्लेख गरेको छ । उपदफा (३) मा लेखिएको छ कसैले विवाह गरी सकेपछि उपदफा (१) बमोजिमको चल, अचल सम्पत्ति वा दाइजो माग गर्न वा त्यस्तो चल, अचल सम्पत्ति वा दाइजो नदिएको कारणले दुलही वा निजका नातेदारलाई कुनै किसिमले हैरान पार्न, सताउन वा कुनै अमानवीय वा अपमानजन्य व्यवहार गर्न हुँदैन ।
विवाह गरिसकेपछि दाइजोको निहुँमा श्रीमती वा नातेदारलाई हैरानी पार्ने, सताउने वा अपमानजन्य व्यवहार गर्नेलाई पाँच वर्षसम्म कैद वा पचास हजार रुपैयाँसम्म जरिबाना वा दुवै सजाय हुनेछ । कसैले दाइजोमा कुनै सम्पत्ति लिएकोमा त्यस्तो सम्पत्ति सम्बन्धित व्यक्तिलाई फिर्ता दिनु पर्ने कानुनमा उल्लेख छ ।
महिला हिंसा विरुद्धको १६ दिने अभियानको आज पहिलो दिन हो । केटिएम दैनिकले अघिल्लो वर्षदेखि यो १६ दिने अभियानमा प्रत्येक दिन फरक फरक स्टोरी प्रकाशित गर्दै आइरहेको छ । यो पटक पनि अघिल्लो वर्षकै निरन्तरता दिँदै हामीले १६ दिने अभियान मनाउने क्रममा छौ । ‘अभियान’ शब्द झट्ट सुन्दा कुनै गैह्र सरकारी संस्थाको ‘फन्डेड’ भन्ने पाठकहरूलाई लाग्न सक्ला । तर केटिएम दैनिकले आफ्नै प्रयासमा अघिल्लो वर्षदेखि सुरु गरिएको अभियान हो । यो मात्रै हैन भ्यालेन्टाइन सप्ताहको बेला हामीले विगत दुई वर्षदेखि बलात्कारविरुद्धको सात दिने अभियान पनि सञ्चालन गर्दै आइरहेका छौँ ।