रौतहट क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यमा स्वतन्त्र उम्मेदवार प्रभू साह निर्वाचित भएका छन् । साहले स्वतन्त्र उम्मेदवार ओमप्रकाश जयसवाललाई ७ हजार २३७ मतान्तरले हराउँदै निर्वाचित भएका हुन् ।
साहले ३२ हजार ४३७ मत पाउँदा उनका प्रतिस्पर्धी जयसवालले २५ हजार २०० मत ल्याए । यस्तै माओवादी केन्द्रका उम्मेदवार रविन्द्र पटेलले ३ हजार ६५८ मत पाए ।
एमालेले रौतहट ३ मा साहलाई नै टिकट दिएको थियो । तर, एमाले नेतृत्वप्रति असन्तुष्टि जनाउँदै साहले पार्टी टिकटबाट नलडेर स्वतन्त्र उम्मेदवारी दर्ता गराएका थिए । जनता समाजवादी पार्टीसँग एमालेले तालमेल गरेकोमा साह असन्तुष्ट रहँदै आएका थिए ।
सत्ता गठबन्धनले रौतहट निर्वाचन क्षेत्र नम्बर ३ मा प्रभु साहलाई समर्थन गरेको थियो । सत्ता गठबन्धनमा सिट बाँडफाँट हुँदा रौतहट ३ माओवादीको भागमा परेको थियो । रौतहट ३ मा एमालेका स्थायी कमिटी सदस्यसमेत रहेका नेता प्रभु साहले स्वतन्त्र उम्मेदवारी दिएपछि माओवादी केन्द्रका उम्मेदवार धीरज पटेललाई फिर्ता गराएको हो ।
अन्तिम समयसम्म त्यो टिकट होल्ड गरेर साहले स्वतन्त्र उम्मेदवारी दिँदा त्यहाँ एमालेले मनोनयन दर्ता गर्नै पाएको थिएन । गत निर्वाचनमा उनी माओवादी केन्द्रबाट यही क्षेत्रमा निर्वाचित भएका थिए।