रुपन्देहीको कञ्चन गाउँपालिकामा भएको सांस्कृतिक कार्यक्रम हेरी फर्कने क्रममा अपहरण गरेर सामूहिक बलात्कार (ग्याङ रेप) गर्ने नौ जनालाई प्रहरीले सार्वजनिक गरेको छ ।
बुधवार बिहान कञ्चन गाउँपालिकामा भएको सांस्कृतिक कार्यक्रम हेरेर दाजुहरूसँगै रातको सवा एक बजेपछिको समयमा घर फर्कने क्रममा मोटर साइकलमा आएका १२/१३ जना मानिसहरूको मोटरसाइकल तेर्साई बाटो छेकी घरेलु धारिलो हतियार (दाउ/हँसिया) देखाई पीडित बालिकाका दाजुहरूलाई शारीरिक आक्रमण गरेका थिए । उनीहरूले १५ बर्षीया र १६ वर्षीया नाबालिगहरुलाई ३ वटा मोटर साइकलमा अपहरण गरेका थिए ।
सो मध्ये ६ जनाको समूहले १६ बर्षिया नाबालिगलाई कञ्चन गाउँपालिका-२ कञ्चन खोलाको बगरमा लगेर पालैपालो हातखुट्टा समाई जबरजस्ती करणी गरेको प्रहरी अनुसन्धानमा खुलेको छ ।
नाबालिका चिच्याएपछि गाउँलेहरूले थाहा पाई प्रहरीलाई खबर गरी सो स्थानतर्फ रातको करिब १:३० बजे प्रहरी पुग्दा समूहका ६ जना व्यक्तिहरू पीडितलाई सोही स्थानमा छाडी खोलै खोला भागेका थिए भने पीडित बालिकाको तत्काल उद्धार गरी प्रहरीले संरक्षणमा लिएको थियो । धारिलो हतियारले आक्रमण गर्दा पीडित बालिकाका दाजुहरू समेत घाइते भएका प्रहरीले जनाएको छ ।
एकै ठाउँबाट अपहरणमा परेका बालिकामध्ये एक जना मात्र बालिका फेला परेकोमा अर्की १५ वर्षीया नाबालिगलाई पहिलेको घटनास्थलबाट करिब २ किलोमिटर उत्तरमा रहेको देउराली सामुदायिक बनको घनाजंगलमा लगी रातको १:५५ बजेको समयमा ७ जनाले पालैपालो जवर्जस्ती करणी गरेर फरार भएको खुलेको छ ।
घटनामा संलग्न मानिसहरू तत्कालै जंगलै जंगल हुँदै फरार भएका जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता डिएसपी श्यामु अर्यालले केटिएम दैनिकलाई बताए ।
कञ्चन खोलाको बगरमा किशोरीमाथि सामूहिक बलात्कार गर्नेहरूमा प्रहरीले रुपन्देही जिल्लाको सैनामैना नगरपालिका वडा नं ११ वनकट्टी बस्ने १९ वर्षीय पदम कार्की, १६ वर्षीय किशोर, गैँडहवा गाउँपालिका-८ मैनिया दुर्गामन्दिर बस्ने १८ वर्षीय राहुल परियार, एक १७ वर्षीय किशोर पक्राउ गरेको छ । अन्य दुई जना फरार छन् ।
देउराली सामुदायिक वनमा १५ वर्षीया किशोरीमा सामूहिक बलात्कार गरेको आरोपमा पक्राउ पर्नेहरूमा सैनामैना नगरपालिका-११ वनकट्टी बस्ने १८ वर्षीय बबि पाण्डे, १४, १५ र १६ वर्षका तीन किशोर र गैँडहवा गाउँपालिका-८ मैनिया दुर्गामन्दिर बस्ने २६ वर्षीय राम बहादुर वि.कलाई प्रहरीले पक्राउ गरेको छ । यस घटनामा अन्य दुई जना फरार छन् ।
घटनामा प्रयोग भएको लु १३ प ९३८ नम्बरको पल्सर १५० सिसि मोटरसाइकल, लु १७ प ८७७७ नं को १२५ सिसि डिस्कभर मोटरसाइकल, ३. लु ३४ प ४१९५ नं को १२५ सिसि सुपर स्पेलेन्डर मोटरसाइकल समेत प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रहरीको प्रारम्भिक अनुसन्धानमा ती व्यक्तिहरूले नाबालिगहरु र उनीहरूको दाजुहरूलाई समेत सांस्कृतिक कार्यक्रमबाट नै पिछा गर्दै आएका थिए ।
यस घटनाको मुख्य योजनाकार राम बहादुर वि.क रहेको र अपहरण र सामूहिक जबरजस्ती करणीमा जम्मा १३ जना व्यक्तिहरूको समूह संलग्न रहेकोमा हालसम्म ९ जना पक्राउ परेका र अन्य व्यक्तिहरूको खोजी भइरहेको ईलाका प्रहरी कार्यालय सालझण्डीका प्रहरी निरीक्षक जगन्नाथ मरासिनीले बताए ।
पक्राउ परेका सबैलाई लाई अपहरण र करणी सम्बन्धी कसुरमा म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।