नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली गृहजिल्ला झापा पुगेका छन् । अध्यक्ष ओली कार्यकर्ता भेटघाट तथा चुनावी प्रचार अभियानका लागि आज झापा पुगेको उनको सचिवालयले जनाएको छ ।
कात्तिक ३ गते जनतासँग भेटघाट कार्यक्रम आयोजना गरिएको छ । त्यसका लागि दमक–३, आमचोक र कलम गाउँपालिकाको केर्खामा जनतासँगको भेटघाट कार्यक्रम राखिएको नेकपा एमाले पोलिटब्युरो सदस्य एवं झापा निर्वाचन क्षेत्र नं ५ निर्वाचन परिचालन कमिटीका संयोजक देवेन्द्र दाहालले जानकारी दिए ।
भोलि बिहान ११ बजे क्षेत्र नम्बर १ को धुलाबारीमा बृहत् कार्यकर्ता भेलालाई अध्यक्ष ओलीले सम्बोधन गर्नेछन् । त्यसैगरी दिउँसो २ बजे दमकको रोयल पार्टी प्यालेसमा क्षेत्र नम्बर ५ स्तरीय बृहत् कार्यकर्ता भेटघाट कार्यक्रम आयोजना गरिएको छ । उक्त कार्यक्रममा क्षेत्र नम्बर ५ का कार्यकर्ताहरूको उपस्थिति रहनेछ ।
अध्यक्ष ओली ३ कात्तिकको दिउँसो २.५० बजे भद्रपुरबाट काठमाडौं फर्कने कार्यक्रम रहेको दाहालले जानकारी दिए ।
ओलीको क्षेत्रमा २५ जना उम्मेदवार
नेपाल कम्युनिस्ट पार्टी (एमाले) अध्यक्ष केपी शर्मा ओलीको सङ्घीय निर्वाचन क्षेत्र झापा क्षेत्र नम्बर ५ मा २५ जनाले उम्मेदवारी मनोनयन गरेका छन् ।
२५ वर्षदेखि ७० वर्ष उमेर समूहका उम्मेदवारहरूको मनोनयन दर्ता हुँदा तीन जना महिला उम्मेदवारहरूको रूपमा खडा भएका छन् । त्यस निर्वाचन क्षेत्रमा सबैभन्दा ज्येष्ठ नागरिक एमाले अध्यक्ष ओली हुन् । निर्वाचन आयोगले उनको उमेर ७० वर्ष भएको उल्लेख गरेको छ । त्यस्तै सबैभन्दा कान्छा स्वतन्त्र उम्मेदवार तिर्थेश्वर चौधरी हुन् । चौधरीको उमेर २५ वर्ष रहेको निर्वाचन आयोगले सार्वजनिक गरेको विवरमा उल्लेख छ ।
सत्ता गठबन्धनबाट यस क्षेत्र नेपाली कांग्रेसको भागमा परेको छ । कांग्रेसले त्यहाँबाट खगेन्द्र अधिकारीलाई पुनः उठाएको छ । ४८ वर्षीय अधिकारी २०७४ सालमा पनि केपी शर्मा ओलीसँग चुनावी प्रतिस्पर्धामा थिए ।
०७४ को निर्वाचनमा १६५ निर्वाचन क्षेत्रमध्ये सर्वाधिक मतान्तरले निर्वाचित हुनेमा दोस्रो स्थानमा रहेका ओली २८ हजार ८४२ मतान्तरका साथ विजयी भएका थिए । उनले ५७,१३९ मत पाउँदा निकटतम प्रतिस्पर्धी कांग्रेसका खगेन्द्र अधिकारीले २८,२९७ मत पाएका थिए ।
‘जिग्री ब्रो’ नामले परिचित कलाकार कुमार कट्टेलले झापा क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्य निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिने भनेर प्रचार गरिएको भएतापनि असोज २३ गते भएको उम्मेदवारी मनोनयनमा उनको नाम छैन । त्यहाँबाट १२ जना व्यक्तिहरूले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।