केटिएम दैनिकको निर्वाचन विशेष दोस्रो भाग हो । पहिलो भागमा हामीले कुन कुन जिल्लामा कति निर्वाचन क्षेत्र छन् भन्ने बारेमा जानकारी दिएका थियौँ ।
आज हामी २०७४ सालमा भएको प्रतिनिधि सभा निर्वाचनमा सबैभन्दा बढी र सबैभन्दा कम मतान्तरले विजयी हुनेहरूको बारेमा जानकारी दिन गइरहेका छौं । यसमा सर्वाधिक मतान्तरले विजयी हुने १० जना र एक हजार भन्दा कम मतान्तरले विजयी भएका सासंदहरूको बारेमा पाठकहरूले जानकारी पाउनुहुनेछ ।
सर्वाधिक मतान्तरले विजयी हुनेहरू दश जनामा नेपाल कम्युनिस्ट पार्टी (एमाले) का शीर्ष पाँच सहित छ जना, नेकपा (माओवादी केन्द्र)का तीन जना र राष्ट्रिय जनता पार्टी नेपाल (राजमो) का रेशम लाल चौधरी हुन् ।
२०७४ सालको प्रतिनिधि सभा निर्वाचनमा दोलखाबाट एमालेका उम्मेदवार पार्वत गुरुङ सर्वाधिक मतान्तरका साथ विजयी भए । केही समय सञ्चारमन्त्री समेत भएका गुरुङ ३० हजार ६४४ मतान्तरका साथ विजयी भएका हुन् । उनले ५५,४५७ मत ल्याउँदा निकटतम् प्रतिस्पर्धी नेपाली कांग्रेसका रुद्र बहादुर खड्काले जम्मा २४,८१३ मत पाएका थिए । प्रतिनिधि सभा निर्वाचनको लागि दोलखा जिल्लामा एउटा मात्र निर्वाचन क्षेत्र रहेको छ ।
सर्वाधिक मतान्तरले निर्वाचित हुने दोस्रो स्थानमा एमाले अध्यक्ष केपी शर्मा ओली छन् । २०७४ सालको निर्वाचनमा झापाको निर्वाचन क्षेत्र नम्बर ५ बाट ओली २८ हजार ८४२ मतान्तरका साथ विजयी भएका हुन् । उनले ५७,१३९ मत पाउँदा निकटतम् प्रतिस्पर्धी कांग्रेसका खगेन्द्र अधिकारीले २८,२९७ मत पाए ।
पाँचवटा निर्वाचन क्षेत्र रहेको झापा जिल्लामा तीनवटामा एमाले विजयी हुँदा क्षेत्र नम्बरमा १ मा माओवादी केन्द्रका सुरेन्द्र कुमार कार्की र क्षेत्र नम्बरमा ३ मा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का राजेन्द्र प्रसाद लिङ्देन निर्वाचित भएका थिए । लिङ्देन अहिले उक्त पार्टीको अध्यक्ष छन् भने कमल थापाले राप्रपा नेपाल नामको अर्को पार्टी गठन गरेका छन् । थापाको पार्टीले स्थानीय तह निर्वाचनमा एक सिट पनि ल्याउन सकेन ।
तेस्रो स्थानमा धादिङ्ग क्षेत्र नम्बर १ का भूमि प्रसाद त्रिपाठी छन् । एमालेका त्रिपाठी २७ हजार १५३ मतान्तरका साथ विजयी भएका हुन् । उनी ४९,१२१ मतका साथ निर्वाचित हुँदा निकटतम् प्रतिस्पर्धी कांग्रेसका विश्व प्रसाद अर्यालले २१ हजार ९६८ मत पाए । दुईवटा निर्वाचन क्षेत्र रहेको धादिङ्ग जिल्लामा क्षेत्र नम्बर २ मा पनि एमालेका उम्मेदवार नै विजयी भएका थिए ।
चौथो स्थानमा सुनसरी क्षेत्र नम्बर १ बाट विजयी भएका एमालेका जय कुमार राई छन् । राई २२ हजार ४०५ मतान्तरका साथ निर्वाचित भएका हुन् । उनले ४४,५२८ भोट पाउँदा संघीय समाजवादी फोरमका अशोक कुमार राईले २२,१२३ मत पाए । चारवटा नि्वाचन क्षेत्र रहेको सुनसरी जिल्लामा एमालेबाट निर्वाचित भएका एकमात्र सासंद हुन् राई ।
पाँचौँ स्थानमा रुपन्देही जिल्लाको क्षेत्र नम्बर २ बाट निर्वाचित भएका विष्णु प्रसाद पौडेल छन् । बालुवाटार जग्गा प्रकरणमा पौडेलको नाम समेत अगाडि आएको थियो । केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषदमा पौडेल केही समय अर्थमन्त्री समेत भएका थिए । २०७४ सालको प्रतिनिधि सभा निर्वाचनमा पौडेल २२ हजार ६३ मतान्तरले विजयी भएका हुन् । उनले ४४,००९ मत पाउँदा कांग्रेसका युवराज गिरीले २१,९४६ मत पाएका थिए ।
छैटौं नम्बरमा माओवादी केन्द्रका वर्षमान पुन छन् । रोल्पाबाट उनी ४२,०८४ मतका साथ निर्वाचित हुँदा कांग्रेसका अमर सिह पुनले २०,३३७ मत पाएका थिए । पुन २१ हजार ७४७ मतान्तरका साथ निर्वाचित भएका हुन् । रोल्पा जिल्लामा एउटा मात्र निर्वाचन क्षेत्र रहेको छ ।
कैलाली क्षेत्र नम्बर १ को लागि राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) को तर्फबाट रेशमलाल चौधरी ३४,३४१ मत ल्याउदै विजयी भएका थिए। सर्वाधिक मतान्तरले विजयी हुनेमा चौधरी सातौ नम्बरमा पर्दछन् । उनका निकटतम् प्रतिद्वन्द्वी बामगठबन्धनकी मदन कुमारी शाह (गरिमा) भन्दा २० हजार ९ सय ३५ मतान्तरले हराउदै चौधरी विजयी भएका थिए ।
निर्वाचन सम्पन्न भएको १३ महिनापछि चौधरीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका थिए । तत्कालीन सभामुख कृष्णबहादुर महराले उनलाई २०७५ पुस १९ गते सिंहदरबारमा शपथ खुवाएका हुन् । डिल्लीबजारस्थित सदर खोरमा थुनामा रहेका चौधरीलाई सिंहदरबार ल्याएर शपथ गराई, सांसदको लोगोसहित पुनः कारागार पठाइएको थियो। अहिले पनि चौधरी जेलमा छन् ।
माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग नातामा बुहारी पर्ने बीना मगर कञ्चनपुर क्षेत्र नम्बर १ बाट ३८,४६७ मतका साथ निर्वाचित भइन् । सर्वाधिक मतका साथ निर्वाचित हुनेमा आठौं नम्बरमा रहेकी मगर १९ हजार २४८ मतान्तरका साथ विजयी भएकी हुन् । उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका दिवान सिंह बिष्टले १९,२१९ मत पाएका थिए । मगर केही समय खानेपानी मन्त्री समेत भएकी थिइन् ।
स्थानीय तह निर्वाचनमा नेकपा (माओवादी केन्द्र)की नेतृ मगर कमल चिह्न बोलेर चुनावी प्रचार अभियानमा होमिएकी थिइन् । कञ्चनपुरको पुनर्वास नगरपालिकामा (माओवादी केन्द्र) र एकीकृत समाजवादीबीच तालमेल भएको थियो तर निर्वाचनको अन्तिम परिणाम सार्वजनिक हुँदा प्रमुख र उपप्रमुख पदमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भए भने ११ वडा रहेको उक्त पालिकामा कांग्रेसबाट ४, एमाले र माओवादी केन्द्रबाट समान २/२, नेकपा (एकीकृत समाजवादी), स्वतन्त्र र राप्रपाबाट १/१ जना वडाअध्यक्षमा निर्वाचित भए ।
सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा ७० करोड कमिशन मागेको दावीसहितको अडियो रेकर्ड सार्वजनिक भएपछि सञ्चारमन्त्रीबाट राजीनामा दिएमा एमालेका सासंद गोकुल प्रसाद वाँस्कोटा सर्वाधिक मतका सात निर्वाचित हुनेमा नबौँ नम्बरमा पर्छन् । काभ्रेपलाञ्चोक जिल्लाको क्षेत्र नम्बरमा २ बाट २०७४ सालको प्रतिनिधि सभा निर्वाचनमा उनी ५५,५२६ मतका साथ निर्वाचित भएका हुन् । वाँस्कोटाले निकटतम् प्रतिस्पर्धी कांग्रेसका मधु प्रसाद आचार्यभन्दा १८ हजार ७७३ मत ल्याए ।
सर्वाधिक मतका साथ निर्वाचित हुने १० औं नम्बरमा छन् माओवादी केन्द्रका जनार्दन शर्मा । अहिलेका अर्थमन्त्री समेत रहेका शर्माले रुकुम पश्चिमबाट ३४,४०२ मतका विजयी भएका हुन् । शर्माका प्रतिस्पर्धी कांग्रेसका गोपाल जी जङ्ग शाह ले १५,६५९ मत पाउन सफल भएका थिए । शर्मा शाहभन्दा १८ हजार ७४३ मतले निर्वाचित भएका हुन् ।
संघीय ससंदको लागि प्रत्यक्षतर्फ १६५ जना र समानुपातिकबाट ११० गरी कूल २७५ जना निर्वाचित हुन्छन् । प्रत्यक्षतर्फ निर्वाचित भएका १६५ जनाको विस्तृत विवरण यस्तो छ ।