बलात्कार आरोपमा न्यायिक हिरासतमा रहेका क्रिकेटर सन्दीप लामिछानेले आफूविरुद्ध उजुरी दिने नाबालिक नरहेको जानकारी गराएका छन् । सोमबार म्याद थपका लागि प्रहरीले काठमाडौं जिल्ला अदालतमा उपस्थित गराएका सन्दीपले न्यायाधीशसमक्ष जाहेरीवाला १९ वर्षकी युवती रहेकी जानकारी गराएका हुन् ।
न्यायाधीशले घटनाबारे सोधेपछि सन्दीपले जाहेरीवालाले आफू १९ वर्षको रहेको बताएकी जानकारी गराएका उनका कानुन व्यवसायी सरोजकृष्ण घिमिरेले जानकारी दिए ।
अधिवक्ता घिमिरेकाअनुसार सन्न्दीपले न्यायाधीशसमक्ष सन्दीपले आफूसँग जाहेरवालीले १९ वर्षको बताएकी जानकारी गराए । सन्न्दीपविरुद्ध २१ भदौमा प्रहरी वृत्त गौशालामा बलात्कारको उजुरी परेको थियो । यसको एक महिनापछि २० असोजमा पक्राउ परेका हुन् ।
सोमबार हिरासतमा राख्न म्याद थपका लागि प्रहरीले उनलाई अदालतमा उपस्थित गराएको हो । अदालतमा परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै सन्दीपका अर्का कानुन व्यवसायी सुधा रिजालले जाहेरीवालाको दुईवटा जन्मदर्ता भेटिएको दाबी गरेकी छन् । उनका अनुसार जाहेरीवाला नाबालिग होइनन् ।
तर केटिएम दैनिकले प्राप्त गरेको पीडित भनिएकी किशोरीको जन्मदर्ता अनुसार उनी १८ वर्ष पुगेकी छैनन् । हामीले पाएको जन्मदर्ताको प्रतिलिपी सही हो वा होइन भनेर हामीले सम्वन्धित वडा कार्यालयको कम्प्युटर सिस्टममा चेक गर्दा पनि हामीले पाएको जन्मदर्ता अनुसारकै विवरण त्यहाँ भएको पाइएको छ ।
जन्मदर्तामा किशोरीको ठेगाना, उमेर र बाबुआमा सबैको नाम खुल्ने भएकाले गोपनियताको लागि उक्त जन्मदर्ता सार्वजनिक नगरिएको हो । सम्वन्धित निकायले मागेको खण्डमा केटिएम दैनिकले उपलव्ध गराउनेछ ।