चितवनमा एक हजार २६ जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ भने थप दुईजनाको मृत्यु भएको छ । विभिन्न अस्पतालमा उपचारका क्रममा आएका उनीहरूमा सङ्क्रमण देखिएको स्वास्थ्य कार्यालय चितवनले जानकारी दिएको छ ।
कार्यालयका अनुसार पाँच हजार दुई सय ८५ जनाको परीक्षण गर्दा एक हजार २६ जनामा डेङ्गु देखिएको हो । ती मध्ये ६ सय ९३ जना चितवनका रहेका छन् । दुई सय १७ जना बाहिरी जिल्लाका र एक सय १६ जनाको ठेगाना नखुलेको कार्यालयले जनाएको छ ।
जिल्लाभित्र भेटिएका सङ्क्रमितमध्ये भरतपुर महानगरपालिकामा चार सय ४९, रत्ननगर नगरपालिकामा एक सय तीन, खैरहनी नगरपालिकामा ६३ जनामा डेङ्गु सङ्क्रमण देखिएको कार्यालयको तथ्याङ्कले देखाएको छ ।
यस्तै राप्ती नगरपालिकामा ३६, माडी नगरपालिकामा १९, कालिका नगरपालिकामा १८ र इच्छाकामना गाउँपालिकामा पाँच जनामा डेङ्गु देखिएको हो । सङ्क्रमितमध्ये सबैभन्दा बढी पुरुष रहेका छन् । चार सय ६ पुरुष र दुई सय ८७ महिलामा डेङ्गु देखिएको कार्यालयले जनाएको छ ।