नेकपा एमालेका नेता महेश बस्नेतले आफ्नोविरुद्धमा सामाजिक संजालमा जथाभावी लेख्नेलाई भौतिक कारबाही गर्ने चेतावनी दिएका छन् ।
भक्तपुरमा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै उनले साइबर क्राइम गर्नेलाई पहिला सम्झाउने, तर नसच्चिए भौतिक रुपमै कारबाही गर्ने चेतावनी दिएका हुन् ।
एमालेका नेताहरुलाई जसले सामाजिक संजालमा गाली गर्छ, त्यसलाई तीन गुणा गाली गरेर जवाफ दिन निर्देशन दिएका बस्नेतले त्यसो गर्दा पनि मानेनन् भने हात खुट्टाले सम्झाउने भन्दै भौतिक कारबाहीमा उत्रिन उक्साएका हुन् ।
उनले भने, ‘तपाई साईवर सेना बनेर अगाडी बढ्नुहोस त्यहाँ कहि कतै हाम्रा नेताहरुलाई गालीगलौच गर्छन भने त्यो भन्दा ३ गुणा गालीगलौच गर्नुहोस त्यो गरे बापत केही भयो भने हामी छौं । साइबर क्र्राईम गर्नेलाई सम्झाउने त्यसपछि मानेनन् भने हात खुट्टा के के ले सम्झाउने हो सम्झाउनुस त्यसपछि परेको पार्टीले व्यहोर्छ ।’
नेता बस्नेतले काठमाण्डौ महानगरका नगर प्रमुख बालेन्द्र शाहप्रति पनि आक्रोष व्यक्त गरेका छन् । केही दिनअघि शाहले काठमाण्डौमा बनेका अनधिकृत संरचना भत्काएपछि निरन्तर आलोचना गर्दै आएका बस्नेतले आज भने बालेन जस्ता स्वतन्त्रहरुले नीति नियम र पार्टीहरुलाई भत्काउन खोजेको टिप्पणी गरे ।
उक्त कार्यक्रममा विभिन्न पार्टीका २५० भन्दा बढि युवाहरुले एमाले पार्टी प्रवेश गरेका छन् ।।