नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले अर्थमन्त्री जनार्दन शर्माको विवाद तत्काल छानबिन गर्न माग गरेका छन् ।
बजेट निर्माणका बेला अनधिकृत व्यक्तिलाई सहभागी गराएको विषयमा विवादित बनेका अर्थमन्त्री शर्माबारे छानबिन गर्न संसदीय समिति गठन गर्न उपसभापति खड्काले माग गरेका हुन् । अर्थमन्त्रीको विषय सडक र संसदमा आइसकेको अवस्थामा यसलाई विश्वासिलो तरिकाले समाधान गर्न संसदीय छानबिन समिति बनाउन उनले माग गरेका छन् ।
‘बजेट निर्माणको बेलाको विषय समेतलाई जोडेर संसद र आमजनमानसको गम्भीर चासोको विषय बनिसकेपछि यो विषयलाई विश्वासिलो तरिकाले समाधान गर्न संसदीय छानबिन समिति बनाएर यथार्थ कुरा सार्वजनिक गरिनु ठीक हुन्छ ।
विगतमा पनि संसदको यस्तो परम्परा छ । बरु ढिलो नगरौं आजै टुङ्गो लगाउँ,’ खड्काले भनेका छन् । यसअघि कांग्रेसकै महामन्त्री गगनकुमार थापाले अर्थमन्त्रीलाई प्रधानमन्त्रीले राजीनामा गराएर छानबिन गर्नुपर्ने बताएका थिए ।