देश स्थानीय तह निर्वाचनमा होमिएको छ । यही वैशाख ३० हुन गइरहेको स्थानीय तह निर्वाचन सम्पन्न गर्नको लागि निर्वाचन आयोगले आफ्नो काम गरिरहेको छ ।
आयोगले सार्वजनिक गरेको टाइमलाइन अनुसार काम अगाडी बढिरहेको भए तापनि तथ्याङ्क सार्वजनिक गर्ने कुरामा भने आयोग कछुवा गतिमा अघि बढिरहेको छ ।
वैशाख ११ र १२ गते ७५३ वटै स्थानीय तहमा उम्मेदवारी दिएकाहरूको अन्तिम सङ्ख्या अहिलेसम्म पनि आयोगले सार्वजनिक गर्न सकेको छैन ।
४ दिन बितिसक्दा पनि मनोनयन गरेकाहरूको सङ्ख्यात्मक विवरण अपडेट गर्नेमै व्यस्त छ निर्वाचन आयोग। टाइमलाइन अनुसार आज वैशाख ११ र १२ गते उम्मेदवारी दिएकाहरू मध्येमा फिर्ता लिएकाहरूलाई हटाएर अन्तिम नामावली सार्वजनिक हुनुपर्ने हो । तर निर्वाचन आयोगले समाचार, सूचनाको लागि बनाएको भाइवर ग्रुपमा अहिले साँझ ८:०५ मा पठाइएको निर्वाचन बुलेटिनमा भने चार दिन अगाडि मनोनयन गरेकाहरूको सङ्ख्या बढेर आएको छ ।
बिहीबार देशभर १ लाख ५२ हजार भन्दा बढीले उम्मेदवारको लागि मनोनयन गरेको भन्दै विवरण सार्वजनिक गरेको आयोगले आज साँझ एक लाख ५३ हजार २२० जनाले निर्वाचनमा उम्मेदवारी दिएको भन्दै विवरण सार्वजनिक गरेको हो । तर यो अन्तिम विवरण होइन यो सङ्ख्या बढ्न सक्ने बुझिएको छ ।
तथ्याङ्क सार्वजनिक गर्ने कुरामा यही कछुवा गतिमा अगाडि बढिरहने हो भने निर्वाचनको नतिजा त एक हप्ता पछि मात्रै सार्वजनिक हुन्छ होला भन्दै कटाक्ष समेत हुन थालेको छ ।
करिब ४ हजारले फिर्ता लिए मनोनयन
आयोगले साँझ सार्वजनिक गरेको बुलेटिनमा देशभरमा करिब ४ हजार उम्मेदवारले मनोनयन फिर्ता लिएको बताइएको छ । तर यो पनि अन्तिम विवरण हैन । भोलिसम्म यो सङ्ख्या बढेर १० हजार माथि पुग्ने सहजै अनुमान लगाउन सकिन्छ ।