चालु आर्थिक वर्षको पहिलो नौ महिनामा नेपालमा १४ करोड मूल्यको कण्डम आयात भएको छ ।
भन्सार विभागले २०७८ साउनदेखि चैतसम्मको तथ्याङ्क सार्वजनिक गर्दै उक्त अवधिमा १३ करोड ९८ लाख ६७ हजार मूल्य बराबरको एक करोड ४० लाख ६४ हजार दुई सय ८७ वटा कण्डम नेपाल भित्रिएको जनाएको हो ।
अझै पनि कण्डमका बारेमा खुलेर कुरा गर्न मानिसहरू हिचकिचाउँछन् तर यसको प्रयोग भने व्यापक रूपमा भइरहेको आयात भएको तथ्याङ्कले पुष्टि गर्छ । कण्डमको नाम सुन्ने बित्तिकै जिब्रो टोक्ने चलन अझै समाजमा व्याप्त रहेको छ । सहरी क्षेत्रमा भन्दा बढी ग्रामीण क्षेत्रमा कण्डमका विषयमा बोल्न, छुन र किन्नसमेत हिचकिचाउने प्रवृत्ति रहेको पाइन्छ ।
नेपालमा कण्डम उत्पादन नहुने भने होइन । नेपाल सिआरएस कम्पनीले देशभित्रै अमेरिकी प्राविधिक सहयोगमा ढाल, प्यान्थर, डिजायर ब्रान्डको कन्डम उत्पादन गरे पनि त्यसले बजारको माग नधानेकै कारण विदेशबाट कण्डम आयात हुने गरेको हो ।
परिवार नियोजनको अस्थायी र भरपर्दो साधन भएको कारणले यसको खपत बढ्दो देखिन्छ । यसले अनिच्छित गर्भ नियन्त्रण मात्रै गर्दैन, विभिन्न यौनरागेबाट समेत जोगाउँछ । सरकारले कन्डममा १ प्रतिशत मात्रै कर लिँदै आएको छ ।
नेपालमा कहिलेदेखि विदेशबाट कण्डम आयात भयो भन्नेबारेमा यकिन तथ्याङ्क पाउन गाह्रो छ तर नेपाल सिआरएस कम्पनीले आजभन्दा ४४ वर्ष अगाडिदेखि नै नेपालमा कण्डम उत्पादन गर्न थालेको हो । सन् १९७८ मा यस कम्पनीले ढाल ब्राण्डमा कण्डमको उत्पादन थालेको हो । यो प्रडक्ट अहिले पनि उत्पादन भइरहेको छ ।
युएसएआइडीले गरेको एक अध्ययन अनुसार विवाहित जोडीले अनइच्छुक गर्भाधान रोक्नको लागि वार्षिक १२० वटा कण्डम प्रयोग गर्नुपर्ने हुन्छ ।
अब लागौँ अहिलेको तथ्याङ्कतिर यो नौ महिनाको अवधिमा सात वटा देशबाट नेपालमा कण्डम आयात भएको देखिन्छ । व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रबाट अघिल्ला आर्थिक वर्षहरूको तथ्याङ्क केलाउन हो भने नेपालमा सोह्र वटा देशहरूबाट कण्डम आयात भएको देखिन्छ । विगत ५ वर्षको तथ्याङ्क केलाउँदा नेपालमा १ अर्ब भन्दा बढी मूल्यको कण्डम आयात भएको समाचार यसअगाडि नै प्रकशित भैसकेको छ ।
एक अर्ब बढिको कण्डम आयात
हालै सार्वजनिक भएको राष्ट्रिय जनगणनाको प्रारम्भिक तथ्याङ्कमा नेपालको जनसङ्ख्या वृद्धिदर एक...
बिहीबार, माघ १३ २०७८तर, यो आर्थिक वर्षमा भने भारत, चीन, दक्षिण कोरिया, मलेसिया, थाइल्यान्ड, संयुक्त अरब इमिरेट्स (युएई) र संयुक्त राज्य अमेरिकाबाट नेपालमा कण्डम भित्रिएको छ । युएईबाट भित्रिएको कण्डमको सङ्ख्या एकदमै न्यून भएको हुनाले तथ्याङ्क विश्लेषणमा राखिएको छैन । त्यहाँबाट नौ वटा मात्र कण्डमको प्याकेट भित्रिएको भन्सार विभागको आँकडाले देखाउँछ ।
यो अवधिमा नेपालमा भारतबाट ९ करोड ७१ लाख २३ हजार रुपैयाँ मूल्यको ७२ लाख २४ हजार ८६१ वटा कण्डम आयात गरिएको छ । भारतबाट आयात हुने कण्डमको मूल्य प्रतिगोटा १३ रुपैयाँ ४४ पैसा पर्न जान्छ ।
त्यस्तै थाइल्यान्डबाट २ करोड ४८ लाख ७३ हजार मूल्यको ५७ लाख ९ हजार ६०० वटा कण्डम आयात भएको देखिन्छ । मूल्यको हिसाबले थाइल्यान्डबाट यो अवधिमा आयात भएको कण्डम अन्य देशको तुलनामा सस्तो छ । त्यहाँबाट प्रतिगोटा ४ रुपैयाँ ३७ पैसामा कण्डम नेपाल भित्रिएको भन्सार विभागले तथ्याङ्कले देखाउँछ ।
दक्षिण कोरियाबाट पनि नेपालमा कण्डम भित्रिएको देखिन्छ । यो अवधिमा त्यहाँबाट प्रतिगोटा १५ रुपैयाँ ५५ पैसाको दरले छ लाख २३ हजार तीन सय ७० वटा कण्डम भित्रिएको छ । कण्डम किन्नकै लागि नेपालबाट ९७ लाख ९४ हजार रुपैयाँ कोरिया पुगेको छ ।
सूचीको चौथो नम्बरमा मलेसिया रहेको छ । मलेसियाबाट नेपालमा ४२ लाख ८७ हजार मूल्यको ४ लाख ५२ हजार १६० वटा कण्डम नेपाल भित्रिएको छ । मलेसियाबाट नेपाल आउने कण्डमको मूल्य भारतभन्दा सस्तो छ तर कोरिया भन्दा महँगो पर्न जान्छ ।मलेसियाबाट आयात भएको कण्डमको मूल्य प्रतिगोटा ९ रुपैयाँ ४८ पैसा परेको विभागको तथ्याङ्कले देखाउँछ ।
नेपालमा आयात हुने कण्डम मध्येमा चीनबाट भित्रिने कण्डमको मूल्य धेरै महँगो छ । कण्डम विक्री गर्ने नेपालका केही वेबसाइटहरूमा चीनबाट आयातित कण्डमको मूल्य प्रतिगोटा तीन सय ५० रुपैयाँ भन्दा बढी राखेको समेत पाइयो । भन्सार विभागको तथ्याङ्कले त्यहाँबाट प्रतिगोटा ७१ रुपैयाँ ९२ पैसामा कण्डम आयात भएको देखाउँछ । चालु आर्थिक वर्षको साउनदेखि चैतसम्म त्यहाँबाट ३८ लाख ८७ हजार रुपैयाँको ५४ हजार ४५ वटा कण्डम नेपाल आयात भएको देखिन्छ ।
त्यस्तै गरी यो नौ महिनाको अवधिमा नेपालमा अमेरिकाबाट ३ हजार मूल्यको २४२ वटा कण्डम आयात भएको देखिन्छ । अघिल्लो वर्ष बङ्गलादेशबाट पनि कन्डम भित्रिएको भएता पनि यो वर्ष भने बङ्गलादेशबाट कन्डम आयात भएको छैन ।
नेपालमा कन्डमको गुणस्तर नाप्ने कुनै संयन्त्र छैन । औषधिहरूको गुणस्तरीयतालाई औषधि व्यवस्था विभागले नियन्त्रण गर्ने भए पनि कण्डमको गुणस्तर के कस्तो छ, यसमा आवश्यक सबै तत्त्वहरू छन् कि छैनन्, यसलाई प्याकेजिङ गर्नु अगाडि जाँच गरिएको छ कि छैन । प्रयोग गरिएको रबर, सिलिकन, ल्युव या अन्य पदार्थहरू उपयुक्त छन् कि छैनन् ? भन्ने बारेमा नेपालमा जाँच हुँदैन ।