हालै सार्वजनिक भएको राष्ट्रिय जनगणनाको प्रारम्भिक तथ्याङ्कमा नेपालको जनसङ्ख्या वृद्धिदर एक दशकमा झन्डै ३१ प्रतिशतले घटेको देखिएको छ । एक दशकअघि नेपालको जनसङ्ख्या वृद्धिदर एक दशमलव ३५ प्रतिशत थियो । तर केन्द्रीय तथ्याङ्क विभागले बुधबार सार्वजनिक गरेको प्रारम्भिक तथ्याङ्क अनुसार त्यो शून्य दशमलव ९३ मा झरेको छ ।
एक प्रतिशतभन्दा कम वृद्धिदर भएपछि मानिसहरूले यसको कारणबारे अनेकौँ अड्कलबाजी गरिरहेका छन् । केहीले भने नेपालीमा चेतना बढेको सन्तान उत्पादन प्रक्रियामा सजक भएको वा भनौँ त्यस्ता साधनहरूमा धेरै पहुँच राख्न थालेको अनुमान लगाउन थालेका छन् । अर्थात् उनीहरूले जनसङ्ख्या वृद्धिदर ऋणात्मक हुनुको कारणलाई कण्डम आयातसँग जोडेका छन् । किनकि, पछिल्लो सात वर्षको आँकडा हेर्ने हो भने नेपालमा एक अर्बभन्दा बढिको कण्डम आयात भएको छ ।
अझैपनि कण्डमका बारेमा खुलेर कुरा गर्न मानिसहरू हिचकिचाउँछन् तर यसको प्रयोग भने व्यापक रुपमा भैरहेको आयात भएको तथ्यांकले पुष्टि गर्छ । कण्डमको नाम सुन्नेबित्तिकै जिब्रो टोक्ने चलन अझै समाजमा व्याप्त रहेको छ । सहरी क्षेत्रमा भन्दा बढी ग्रामीण क्षेत्रमा कण्डमका विषयमा बोल्न, छुन र किन्नसमेत हिच्किचाउने प्रवृत्ति रहेको पाइन्छ ।
आर्थिक वर्ष २०७२/७३ देखि चालु आवको पुष मसान्तसम्मको कण्डम आयातको तथ्यांक केलाउने हो भने १ अर्ब १२ करोड ६९ लाख ८५ हजार २६६ रूपैयाँ बराबरको कण्डम आयात भएको देखिन्छ ।
नेपाल सिआरएस कम्पनीले देशभित्रै अमेरिकी प्राविधिक सहयोगमा ढाल, प्यान्थर, डिजायर ब्रान्डको कण्डम उत्पादन गरे पनि त्यसले बजारको माग नधानेकै कारण विदेशबाट कण्डम आयात हुने गरेको हो ।
परिवार नियोजनको अस्थायी र भरपर्दो साधन भएको कारणले यसको खपद बढ्दो देखिन्छ । यसले अनिच्छत गर्भ नियन्त्रण मात्रै गर्दैन, विभिन्न यौनरागेबाट समेत जोगाउँछ । सरकारले कण्डममा १ प्रतिशतमात्रै कर लिँदै आएको छ ।
भन्सार विभागका अनुसार आर्थिक वर्ष २०७७/७८ मा २४ करोड ४१ लाख ८८ हजार रुपैयाँ बराबरको कण्डम आयात भएको छ । आर्थिक वर्ष २०७२/७३ मा २१ करोड ११ लाख ३ हजार, ०७३/७४ मा ११ करोड ५६ लाख रुपैयाँ, ०७४/७५ मा १९ करोड ९३ लाख ३९ हजार रुपैयाँ, ०७५/७६ मा १३ करोड ५३ लाख ४६ हजार रुपैयाँ बराबरको कण्डम आयात भएको देखिन्छ । आर्थिक वर्ष २०७६/७७ मा १३ करोड ३० लाख ५९ हजार रुपैयाँ बराबरको कण्डम नेपाल भित्रिएको छ ।
चालू आर्थिक वर्ष २०७८/७९ को ६ महिनामा मात्र नेपालमा झन्डै नौ करोड रुपैयाँको कण्डम भित्रिएको छ । भन्सार विभागले सार्वजनिक गरेको पौष मसान्तसम्मको तथ्याङ्कअनुसार २०७८ साउनदेखि २०७८ पुष महिनाको अवधिमा विदेशबाट आठ करोड ८२ लाख ४५ हजार रुपैयाँको कण्डम आयात भएको हो ।
अघिल्लो वर्षको पहिलो ६ महिनाको तुलनामा यो वर्ष भित्रिएको कण्डमको मूल्य कम छ । आर्थिक वर्ष २०७७/७८ को पुससम्म नौ करोड पाँच लाख ५७ हजार रुपैयाँको कण्डमको प्याकेट भित्रिएको भन्सार विभागको तथ्याङ्कले देखाउँछ ।
यही साउनदेखि पुस महिनासम्ममा ८६ लाख ७३ हजार चार सय ३९ वटा कण्डम भित्रिएको विभागले जनाएको छ । विश्वका सातवटा मुलुकबाट नेपालमा कण्डम आयात हुने गरेको छ । नेपालमा भारत, चीन, कोरिया, मलेसिया, थाइल्यान्ड, संयुक्त अरब इमिरेट्स र अमेरिकाबाट कण्डम भित्रिएको छ ।
भारतबाट पाँच करोड ३७ लाख, थाइल्यान्डबाट दुई करोड २६ लाख रुपैयाँ बराबरको कण्डम आयात हुँदा दक्षिण कोरियाबाट ६४ लाख मलेसियाबाट २८ लाख र चीनबाट २४ लाख रुपैयाँ बराबरको कण्डम भित्रिएको हो । अमेरिकाबाट दुई सय ४० वटा र युएईबाट नौ वटा कण्डमको प्याकेट भित्रिएको छ । अघिल्लो वर्ष बङ्गगलादेशबाट पनि कण्डम भित्रिएको भएतापनि यो वर्ष भने बङ्गगलादेशबाट कण्डम आयात भएको छैन ।
नेपालमा कण्डमको गुणस्तर नाप्ने कुनै संयन्त्र छैन । औषधिहरूको गुणस्तरीयतालाई औषधि व्यवस्था विभागले नियन्त्रण गर्ने भए पनि कण्डमको गुणस्तर के कस्तो छ, यसमा आवश्यक सवै तत्वहरू छन् कि छैनन्, यसलाई प्याकेजिङ गर्नु अगाडि जाँच गरिएको छ कि छैन । प्रयोग गरिएको रबर, सिलिकन, ल्युव या अन्य पदार्थहरू उपयुक्त छन कि छैनन् ? भन्ने बारेमा नेपालमा जाँच हुँदैन ।