वीरगन्ज महानगरपालिका–१५ नेशनल मेडिकल कलेजमा पार्किङ गरी राखेको मोटरसाइकल चोरी गरेको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका–२२ जगरनाथपुर बस्ने २० वर्षीय ऋषी पासवान र १९ वर्षीय सहिम मिया अन्सारी रहेका छन् ।
रौतहट फतुवा विजयपुर नगरपालिका–१० बस्ने लक्ष्मी चौधरीको ना.३५ प ५९१ नम्बरको मोटरसाइकल उनीहरुले चोरी गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायव उपरीक्षक ओमप्रकाश खनालले केटिएम दैनिकलाई बताए ।
प्रहरी चौकी बसपार्कबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त मोटरसाइकल सहित फेला पारी पक्राउ गरेको हो । उनीहरूमाथि चोरी सम्वन्धि कसूरमा अनुसन्धान अगाडि बढाइएको छ ।
पछिल्लो समयमा पर्सामा मोटरसाइकल चोरी गर्ने गिरोह नै सक्रिय रहेको प्रहरीको बुझाई छ । विगत डेढ महिनाको तुलनामा १० जना भन्दा बढी मोटरसाइकल चोरी गरेको अभियोगमा पक्राउ परेका छन् ।