पोखरा महानगरपालिकाको मेयर बन्नका लागि एमालेभित्र १२ जनाले दावेदारी प्रस्तुत गरेका छन् । मंगलबार एमाले पोखराको बैठकमा १२ जनाले उम्मेदवारी दर्ता गराएका हुन् ।
मेयरका लागि प्रदेश सांसद कृष्ण थापा, वडा नम्बर १३ का अध्यक्ष दर्शन लामा, व्यवसायी पुष्पज्योति दुंगाना, पुष्पराज अधिकारी, एमाले पोखराका पूर्व अध्यक्ष दीपक पौडेल, बालसिंह काउछा मगर, सावित्री भण्डारी, मिनाकुमारी गुरुङ, भीम कार्की, रश्मि आचार्य, प्रा.डा. विश्वकल्याण पराजुली र राजीव पहारीले आन्तरिक उम्मेदवारी दिएका हुन् ।
अधिकांश वडामा सर्वसम्मत उम्मेदवार छानेको एमालेले महानगरको प्रमुख र उप्रमुख पनि सर्वसम्मतरुपमै छान्ने कसरत गर्नेछ । तर यहाँ गुटगत प्रभाव बढी भएकोले सर्वसम्मत छनोट हुने सम्भावना निकै कम छ । केन्द्रमा अध्यक्ष केपी शर्मा ओलीकै छत्रछाया भए पनि पोखरामा भने खगराज अधिकारी र पृथ्वीसुब्बा गुरुङको छुट्टाछुट्टै ‘पावर एक्सरसाइज’ छ ।
यसअघि उपमेयर मन्जुदेवी गुरुङ पनि मेयरको दौडमा रहेको समाचार बाहिरिइरहँदा रोचक हिसाबले दाबीबाट बाहिरिएकी हुन् । उपमेयरमा ११ जनाले नाम टिपाएका छन् ।
पोखरा १९ का वडाध्यक्ष शोभामोहन पौडेल, वामदेव ढुंगाना, टीकाराम पँगेनी, एमाले कास्की उपाध्यक्ष तेजनारायण अधिकारी, व्यवसायी सञ्जीवबहादुर कोइराला, देवका पहारी, १६ नम्बर वडाका अध्यक्ष जीवनप्रसाद आचार्य, एमाले कास्की सचिव बैनबहादुर अधिकारी क्षेत्री, हरिमाया गुरुङ, बलराम गायक र पत्रकार सुष्मा पौडेलले आन्तरिक बैठकमा उपमेयरमा दावी गरेका हुन् ।
अघिल्लो चुनावमा एमालले आन्तरिक मतदानबाटै मेयर र उपमेयरको नाम सिफारिस गरेको थियो । २०७४ सालको स्थानीय तहको निर्वाचनमा पोखरा महानगरमा एमालेका मानबहादुर जिसी निर्वाचित भएका थिए । उनले कांग्रेस उम्मेदवार रामजी कुँवरलाई साढे १३ हजार मतले हराएका हुन् ।