निर्वाचन आयोगले कांग्रेस नेता शशांक कोइरालालाई स्पष्टीकरण सोधेको छ ।
निर्वाचनमा ६ करोड खर्च भएको कोइरालाले बताएको कुरा सञ्चारमाध्यममा आएकाले यससम्बन्धमा के भएको हो जानकारी गराउन भन्दै आयोगले कोइरालालाई ७ दिनभित्र जवाफ पेश गर्न भनेको छ।
सोमबार नियमित पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले कोइरालालाई जवाफ पेश गर्न ध्यानाकर्षण गराइएको बताए।
बर्दघाट निर्वाचन क्षेत्र नम्बर १ बाट २०७४ सालको चुनाव लड्दा कोइरालाले पेश गरेको चुनावी खर्च विवरणमा २१ लाख ७५ हजार रुपैयाँ पेश गरेको देखिएको आयोगले जनाएको छ ।
तर उनले अफ् द् रेकर्ड भन्दै एक कार्यक्रममा अघिल्लो पटकको निर्वाचनमा आफूले ६ करोड खर्च भएको बताएका थिए । उनले अफ् द् रेकर्ड भनेपनि उक्त कार्यक्रम फेसबुकमा लाइभ प्रशारण भैरहेको थियो । यससम्बन्धमा ७ दिनभित्र जवाफ पठाउन भनिएको छ ।
उनले पहिलो संविधानसभा निर्वाचनमा ८० हजार, दोस्रोमा ३ करोड र तेस्रो निर्वाचनमा ६ करोड खर्च भएको सुनाएका थिए।
पौडेलका अनुसार २०७४ सालको प्रतिनिधिसभा चुनावमा निर्वाचन आयोगले उम्मेदवारलाई २५ लाख रुपैयाँ खर्च गर्ने प्रावधान तोकेको थियो।