राष्ट्रिय प्रजातन्त्र पार्टीले आगामी स्थानीय तहको निर्वाचनका लागि दमक नगरपालिकामा राम थापालाई उमेदवार बनाउने घोषणा गरेको छ।
शनिबार दमकमा आयोजित पार्टीको आमसभामा थापाले उमेदवारी घोषणा गरेका हुन्। राप्रपाको प्रदेश १ अध्यक्ष थापा दमक नगरपालिकाका पूर्व प्रमुख पनि हुन्।
उनी दमकका लोकप्रिय राजनीतिक र सामाजिक राजनीतिकर्मीको रुपमा परिचित छन्। झापामा राप्रपाको संगठन प्रभावकारी छ। झापा क्षेत्र नं ३ मा राप्रपाले प्रतिनिधि सभाको निर्वाचन जितेको थियो।
पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले एमालेको सहयकार्यमा कांग्रेस नेता कृष्णप्रसाद सिटौलालाई पराजित गरेका थिए।
प्रदेश-१ संसदमा पनि राप्रपाको प्रतिनिधित्व छ। झापामै २०७४ को स्थानीय तह निर्वाचनमा कचनकवल, हल्दिबारी र गौरीगञ्ज गाउँपालिकामा राप्रपा विजयी भएको थियो।
दमकमा आयोजित आमसभामा एक हजार भन्दा बढी व्यक्ति राप्रपामा प्रवेश गरेका प्रवक्ता मोहन श्रेष्ठले बताए। अध्यक्ष लिङ्देनले नवप्रवेशीलाई पार्टीमा स्वागत गर्दै मेयर पदमा उमेदवारी घोषणा गरेका थापालाई विजयको शुभकामना दिए।