वीरगञ्जबाट जनकपुरधाम तर्फ आउँदै गरेको बस सर्लाहीमा दुर्घटना हुँदा चार जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।
आइतबार बिहान करिब साढे ११ बजेतिर सर्लाहीको लालबन्दी नगरपालिका-१७, रानीगञ्जस्थित पूर्वपश्चिम लोकमार्गको फुलजोर पुलबाट ना.४ ख. ८५५५ नम्बरको यात्रुबाहक बस अनियन्त्रित भएर खस्दा चार जनाको मृत्यु भएको थियो। दुर्घटना मृत्यु भएका चार जनाकै पहिचान खुलेको छ।
दुर्घटनामा परि मृत्यु हुनेहरुमा सर्लाहीको बरहथवा नगरपालिका-९ मूर्तिया निवासी ५५ वर्षीया चन्द्रकला जर्गा मगर, धनुषाको धनुषाधाम नगरपालिका-२ निवासी ५० वर्षीय नन्दु दास, सिन्धुलीको तिनपाटन गाउँपालिका-२ निवासी ३० वर्षीया शर्मिला कार्की श्रेष्ठ र भारत बेतिया बेलसन्धी कोडार पिपरा पञ्चायत निवासी २४ वर्षीय सुनिल यादव रहेका छन्। प्रहरीका अनुसार मृतक श्रेष्ठ तीन महिने सुत्केरी हुन्।
घाइते सबैलाई उपचारका लागि स्थानीय अस्पतालहरुमा लगिएको थियो। चार जनाको उपचार क्रममा मृत्यु भएको हो। दुर्घटनामा ३२ जना घाइते भएका छन्।
मृतक ४ जनाकै शव पोष्टमार्टम गरी मलंगवा स्थित प्रादेशिक अस्पतालमा राखिएको प्रहरीले जनाएको छ। आफन्तहरु सम्पर्कमा आएपछि मृतकको शव पठाईने प्रहरीले जनाएको छ।