नेपालमा भएका हात्तीहरूलाई बेच्नको लागि भारत लैजाँदै गर्दा दुईवटा हात्तीसहित तीन जना व्यक्तिहरू पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालका अनुसार दुईवटा हात्ती भारततर्फ लैजादै गरेको अवस्थामा दुईजना माउते र अर्का एक व्यक्तिलाई पक्राउ गरिएको हो ।
प्रवक्ता खनालका अनुसार उनीहरूलाई पर्सा जिल्लाको पकहामैनपुर गा.पा.वडा नं.५ पोखरिया टोलबाट पक्राउ गरिएको हो । पक्राउ पर्नेमा माउतेहरू बुदिराम महतो र राजु कुमाल का साथ साथै हात्ती किनबेचमा संलगन सफरोज आलम पनि छन् ।
व्यवसायीहरूका भनाइमा एउटा हात्तीको मूल्य रु. १ करोडसम्म पर्छ। भारतमा हात्तीको उच्च माग छ। भारतमा हात्तीको माग बढ्नुको प्रमुख तीन कारण मानिन्छ। पहिलो, भारतमा अहिले पनि ठूल्ठूला जमिनदारले सामाजिक प्रतिष्ठाका लागि हात्ती पाल्ने चलन कायम छ।
दोस्रो, भारतका प्रायजसो मन्दिरमा हात्ती राखिन्छ। विवाह जन्ती जाँदा हात्ती लैजाने प्रचलनले गर्दा माग उच्च छ । तेस्रो, भारतमा सरकारले हात्ती पाल्न निर्व्याजी ऋण प्रदान गरेको छ ।
कोरोना महामारीले गर्दा चितवन राष्ट्रिय निकुञ्ज आसपास व्यवसायीहरूले पालेका धेरै हात्तीहरू भारतमा विक्री भएका थिए ।
नेपालमा घरपालुवा हात्तीको सङ्ख्या कति भन्ने एकिन तथ्यांक पाउन सकिएको छैन । केही अध्ययनहरूले नेपालमा करिब २०० हात्ती मानव नियन्त्रणमा रहेको देखाएका छन्, जसमध्ये आधाजति सरकारी र आधा निजी स्वामित्वमा छन् । निजी स्वामित्वका मध्ये करिब ८० प्रतिशत चितवन राष्ट्रिय निकुञ्जआसपासका सौराहा, अमलटारी र कसरा क्षेत्रमा छन् ।