सर्लाहीको ईश्वरपुरमा क्लवको घर बनाउने विषयमा भएको झडपमा घाइते भएका संघीय सांसद प्रमोद साह लाई हेलिकप्टरबाट काठमाडौं ल्याउने तयारी भैरहेको छ । सांसद साहको टाउकोमा गहिरो चोट लागेको छ ।
शनिबार इश्वरपुर नगरपालिका–६, बयलवास बजारमा दुई पक्षबीच झडप भएको हो । झडपमा दुबै पक्षका स्थानीयबीच ढुंगामुडा भएको थियो । सोही क्रममा ढुंगाले लागेर सर्लाही क्षेत्र नम्बर–१, का सांसद घाईते भएका हुन् ।
आक्रमणबाट जनता समाजवादी पार्टी नेपालका प्रमुख सचेतक एवं केन्द्रीय सदस्य साह घाइते भएको उनका आफन्त अनिल झाले बताए । उनका साथमा रहेका सुरक्षा गार्डलाई पनि कुटपिट भएको बताइएको छ । गार्डको पेस्तोल पनि खोसिएको झाले बताए । दुवैजनाको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।
विवाद उत्कर्षमा पुगेको अवस्थामा सांसद साह घटनास्थल पुगेलगतै झडप भएको ईलाका प्रहरी कार्यलय केश्वरगंजले जनाएको छ । उक्त क्लवको भवन बाटोमा परेको भन्दै केही समय पहिला आधा भत्काइएको थियो ।
सडक छुट्टाएर बाँकी जग्गामा एक पक्षले क्लवको भवन बनाउन खोजेका थिए ।