बाँकेको गाभर भ्याली होमस्टेमा चैत ११ गतेदेखी १३ सम्म ‘मौलिक भोजन मेला’ को आयोजना हुँदैछ । यस ‘मौलिक (रैथाने) खाना मेला’ मा लुम्बिनी प्रदेशका विभिन्न जात जातीहरुमा प्रचलित नाँचको अवलोकन समेत गर्न सकिने छ ।
‘रैथानेमा भर, स्वास्थ्य जीवनको आधार’ गाभर भ्याली होमस्टे जाऔं, मौलिक भोजको स्वाद लिऔ’ मुल नाराका दिईएको यो महोत्सब तीन दिनसम्म चल्ने छ ।
उक्त महोत्सबमा ‘मौलिक भोजन मेला’ मा मौलिक खानाको स्वादसँगै विभिन्न जातजातीका प्रचलित नाँच प्रदर्शन गरिने गाभर भ्याली होमस्टे संचालक समितिका अध्यक्ष कृष्णलाल चौधरीले बताए । ‘थारु समुदायमा प्रचलित सखिया, झुम्रा, छोक्रा, पैया, मयूर नाचका साथै हिमाली तथा पहाडी भेगमा प्रचलित कुर्कुटी, सल्यानी टप्पा, झ्याउरे लगायतका नाच महोत्सवमा अवलोकन गर्न सकिनेछ ।’ चौधरीले भने, ‘मौलिक परिकारको स्वादस“गै लोप हु“दै गएको परम्परागत नाचगान हेर्ने ब्यवस्था समेत महोत्सवमा गरिएको छ ।’
आधुनिकतासँगै लोप हुँदै गएका संस्कार र संस्कृति जगेर्ना गर्न लुम्बिनी र हिमाली भेगमा प्रचलित लोपोन्मुख नाचगानकोे प्रचारप्रसार गरि यसको प्रवद्र्धन गर्ने उद्देश्य रहेको आयोजक गाभर भ्याली होमस्टेले जनाएको छ ।’
महोत्सवमा थारु समुदायको मौलिक पोशाकको अवलोकनसँगै किनमेल गर्ने ब्यवस्था मिलाईएको छ । ‘परम्परागत पोशाकको बारेमा पछिल्लो पुस्तालाई जानकारी दिने र यसको बजारिकरण गर्न मौलिक पोशाक अवलोकन र किनेर लैजान चाहनेका लागि त्यो सुबिधा रहेको आयोजकले जानकारी दिएको छ ।
‘मौलिक खाना खानका लागि मात्र होईन हाम्रो संस्कृति पनि हो ।’ रैथाने एग्री प्रोडक्ट्स नेपाल प्रालिका अध्यक्ष तथा संरक्षणकर्मी तिलक ढकालले भने, ‘रैथाने खाना र पर्यटन एक अर्कासँग जोडिएका विषय हुन् ।’
यस मौलिक भोजन मेला २०७८ लाई पर्यटन डिभिजन कार्यालय, लुम्बिनी प्रदेश, कोहपुर, बाकेले सहयोग गरेको छ । गाभर भ्याली सामुदायिक होमस्टे बाकेको आयोजनामा हुन लागेको यो कार्यक्रम रैथाने एग्री प्रोडक्ट्स नेपाल प्राली, महाराजगञ्जको सहकार्यमा हुन लागेको हो ।