सरकारले स्थानीय तहको चुनावको लाग माग गरेको १ लाख जना म्यादी प्रहरीको लागि आजदेखि आवेदन खुल्ला गरिएको छ ।
आगामी वैशाख ३० गतेका लागि तय भएको स्थानीय तह निर्वाचनका लागि प्रहरी प्रधान कार्यालयले म्यादी प्रहरीको लागि आजदेखि चैत ११ गतेसम्म दरखास्त दिन सकिन्छ ।
म्यादी प्रहरीको लागि आवेदनखुलेकै दिन महानगरीय प्रहरी परिसर टेकुमा म्यादी प्रहरी बन्नको लागि आवेदन दिनहरूको सङ्ख्या उल्लेख्य देखिएको छ । काठमाडौं उपत्यकाका लागि महानगरीय प्रहरी परिसरमा आवेदन दिन सकिनेछ भने अन्य जिल्लाको हकमा समवन्धित जिल्ला कार्यालयमा आवेदन बुझाउन सकिन्छ ।
त्यसका लागि १८ वर्ष पूरा भइ ५४ वर्ष ननाघेको हुनुपर्ने छ।
आबेदन दिनको लागि कुनै राजनैतिक दलको सदस्य नरहेको शारीरिक तथा मानसिक रुपले तन्दुरुस्त रहेको, साधरण लेखपढ गर्न जान्ने र कुनै नैतिक पतन देखिने फौजदारी अभियोगमा कसुरदार नठहरिएको हुनुपर्नेछ ।
निर्वाचनमा खटिने म्यादी प्रहरीहरूको कार्य अवधि बढीमा ४० दिने हुनेछ भने उनीहरूले मासिक आधारभूत तलब रु २२ हजार ६८० का दरले ४० दिनको ३० हजार २४० रुपैयाँ, खाद्यान्न बापत सात हजार २०० र पोशाक तथा अन्य सामान खरीद गर्ने गरी ६ हजार पाउनेछन् ।
यसरी म्यादी प्रहरीमा छनौट भएकाहरूले प्रतिव्यक्ती रु ४३ हजार ४४० पाउने प्रहरी प्रधान कार्यालय मानवश्रोत एवं प्रशासन विभागले जनाएको छ ।
म्यादी प्रहरी भर्नाका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका पूर्वसुरक्षाकर्मीलाई प्राथमिकता दिइने प्रहरी प्रधान कार्यालय, नक्सालले सूचना जारी गरेको सूचनामा भनिएको छ ।
२०७८ साउन १ गतेदेखि आवेदन दिएर शारीरिक तन्दुरुस्ती र स्वास्थ्य परीक्षणमा उत्तीर्ण भएकाहरुले पनि प्राथमिकता पाउनेछन् ।
नेपाल बाहिरका सुरक्षा निकायमा काम गरेका र विगतका निर्वाचनमा म्यादी प्रहरीका रुपमा काम गरेकाले पनि प्राथमिकता पाउने भनिएको छ ।