औषधि आयातमा करोडौँ रुपैयाँ भ्रष्टाचार गरेको भन्दै औषधि व्यवस्था विभागका महानिर्देशक भरत भट्टराईविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ ।
माघ २७ गते केटिएम दैनिकमा “जनताको स्वास्थ्यमा खेलबाड गर्दै गुणस्तरहीन औषधि बजारमा, विभागमा करोडौँको चलखेल” शीर्षकमा समाचार प्रकाशित भएको थियो । उक्त समाचारको प्रकाशित भएको एक महिनापछि अख्तियारमा उजुरी परेको हो ।
गुणस्तरहीन भारतीय लाइफ सेभिङ ड्रग्सलाई पार्थ फर्माका सचिन खण्डेवालसँग करोडौँ रकम लिई मिलेमतोमा नेपाल ल्याएर आईसीयूमा रहेका बिरामीहरुको जनस्वास्थ्यमा गम्भीर घात गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको हो ।
गत फागुन २७ गते सी–०३१२३१ नं.मा दर्ता भएको उजुरीमा गुणस्तरीय औषधि सेवन गर्न पाउने नेपालीहरुको नैसर्गिक अधिकारको रक्षा गर्ने औषधि व्यवस्था विभागका प्रमुख नै सो विपरीत कमसल औषधि आयात गर्न पार्थ फर्माका खण्डेवालसँग आर्थिक प्रभावमा परेर कार्य गर्दै आएको भनी अख्तियारमा उजुरी परेको अख्तियार स्रोतले केटिएम दैनिकलाई बतायो ।
अख्तियारमा परेको उजुरीमा विभागका महानिर्देशक भट्टराईले ग्लोबल ट्रेड एग्जिम प्रा.लि., ब्राइट फर्चुन प्रा.लि., आर.एस.पी. ट्रेडिङ्ग प्रा.लि., आदित्य इन्टरनेशनल प्रा.लि., राजेश मेडिट्रेड प्रा.लि. तथा विमक्रिस इन्टरनेशनल प्रा.लि.लगायतका दर्जनौँ कम्पनीमार्फत औषधि आयातको काम गर्दै आइरहेका वीरगञ्जका महानगरपालिका– १० आदर्शनगरका औषधि व्यवसायी सचिन खण्डेवालबाट करोडौँको रकम बुझ्दै नेपाली औषधि बजारमा गर्दै आइरहेका चलखेलका कारण नेपाली औषधि बजारमा गुणस्तरहीन औषधि छ्यापछ्यापती भित्रिनुको अलावा भेनस रेम्डिज लिमिटेड नामक भारतीय औषधि उत्पादक कम्पनीबाट स्पोरिम कार्बोपेनम ग्रुपका औषधि डेडिकेटेड फ्याकल्टीबाट उत्पादन नगरी दुवै औषधि एकै फ्याकल्टीमा उत्पादन भएका औषधि समेत निर्बाध रुपमा नेपालमा आयात गर्ने व्यवस्था मिलाएको भनिएको छ ।
यसरी उत्पादन भएका औषधिको प्रयोग सघन उपचार केन्द्रमा उपचार हुँदै आएको र यसले बिरामीको रोग निको पार्नेभन्दा पनि व्यवसायीलाई धनी बनाउनेबाहेक रोगीको उपचारमा कुनै सुधार नगरेको पाइएको छ’, उजुरीमा भनिएको छ ।
फाल्गुन २७ गते अख्तियारमा परेको उजुरीमा उल्लेख भएका कुराहरू केटिएम दैनिकमा माघ २७ गते प्रकाशित भएको समाचारमा उल्लेख भएका छन् ।