१७ वर्षीया किशोरीलाई जबरजस्ती करणी तथा यौन दुर्व्यवहार गरेको आरोप लागेका नायक पल शाह अहिले प्रहरी हिरासतमा छन् । पीडित किशोरीका बुबाले दिएको जाहेरीका आधारमा नेपाल प्रहरीले पक्राउ पूर्जी जारी गरेपछि आइतबार आत्मसमर्पण गरेका पलमाथि प्रहरीले सात दिन म्याद थपेर अनुसन्धान गरिरहेको छ ।
जिल्ला अदालत तनहुँले प्रहरी हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएसँगै सामाजिक सञ्जालमार्फत पक्ष–विपक्षमा बोल्नेहरूको लर्को छ । विभिन्न युटुब अन्तर्वार्तामा विरोध र समर्थन गर्नेहरूको चाङ छ । कोही सहमतिको नाम लिएर समर्थन गरिरहेका छन्, पललाई दशा लाग्यो नि ! भनेर रोइरहेका पनि छन् ।
तर जति रोइ–कराइ गरिरहेका छन्, त्यसमा कलाकारको सङ्ख्या न्यून छ । नायिका पूजा शर्मा मात्र छिन्, जो पलको बचाउमा लागेकी छन् । पलमाथि अनुसन्धान सुरु नहुँदै पूजा रुन थालिसकेकी थिइन् अनि प्रसिद्धीको आडम्बरमा आफ्ना फ्यानहरूलाई डाको छोडेर रुन लगाएकी थिइन् । उनी अनुसन्धाननै प्रभावित तुल्याउने गरी रोइन्, पलको तस्बिर अङ्कित टि–सर्ट लगाएर फिल्मको प्रचार–प्रसारमा उत्रिइन् । सायद उनको रुवाइ फगत आफ्नो फिल्म चलाउनेबाहेक अरू नहोला ।
सम्भवतः नायिका शर्मामात्र हुन्, त्यसरी अनुसन्धानमा तानिएका कलाकारको बचाउमा खुलेर प्रस्तुत हुने । अन्य कलाकारहरूले भने मौनता साँधिरहेका छन् । अझ, भनौँ उनीहरू खुल्न चाहँदैनन् । यसर्थमा पनि कलाकारहरू ती निर्दयी प्राणी हुन्, जो पीडितका लागि होइन, नाफा–घाटा हेरेर मात्र बोल्छन् । किनकि, म्युजिक भिडियोका राजा मानिने पलसँग काम गर्न नपाइएला भनेर डराउनेहरू बोल्न चाहेका छैनन् ।
पलको प्रकरणअगाडि हास्यव्यङ्ग्य गायक प्रकाश ओझा पनि यौन दुर्व्यवहारको केसमा मुछिएका थिए । ओझामाथि अनुसन्धान भइरहँदा कसैले पनि प्रकाश ओझा आइएम विथ यु भनेनन्, जस्टिस फर प्रकाश भनेन् । अहिले पलमाथि पर्दाचाहिँ उनको बचाउमा किन ?
जसरी भुवन केसी र साम्राज्ञीराज्यलक्ष्मी शाहबीचको प्रकरणमा उनीहरू बोलेका थिएनन् । साम्राज्ञीले भुवनलाई यौन उत्पीडनको आरोप लगाएकी थिइन् । भुवन भने मानहानी मुद्दा हाल्न तम्सिएका थिए । भुवन फिल्म निर्देशक, निर्माता तथा अभिनेता हुन् । भुवनविरुद्ध बोल्नु भनेको उनले बनाउने फिल्ममा अभिनय गर्ने, गाउने, निर्देशन गर्ने, लेख्नेलगायतका अवसरबाट बञ्चित हुनु पनि हो । बिचरी, साम्राज्ञीको विपक्षमा बोल्दा त उनले के नै पो गर्न सक्छिन् र !
अनि साम्राज्ञीलाई पनि आफूमाथि पर्दामात्र बोल्ने नायिकाका रूपमा लिँदा फरक नपर्ला । उनका सामाजिक सञ्जालमा पल प्रकरणमा बोलेका शब्द छैनन् । अरूका विषयमा बोल्दा साम्राज्ञीलाई व्यावसायिक घाटा हुने डर त होला नि !
अर्की नायिका केकी अधिकारीलाई समाजमा हुने यस्ता विषयमा क्रान्तिकारी स्टेटमेन्ट दिने कलाकारका रूपमा चिनिन्थ्यो । बलात्कार, महिला हिंसा, सामाजिक विभेदका घटनामा बोल्थिन् उनी । केकीले केही समयअघि महिला सशक्तिकरणको नाममा कपाल खौरिएकी थिइन् । अहिले पनि उनको कपाल लामो भयसकेको छैन । तर उनी नाबालिगको पक्षमा बोल्दा महिला सशक्तिकरण नहुने अर्थ राख्छिन् सायद । केही दिनअघि उनले ‘थुक महात्म्य’ हालेकी छन् । ‘थुक्न मात्र मन लाग्छ’ स्टाटसको आशय भने बुझिएको छैन ।
अर्की नायिका रेखा थापा भने ढिलै भएपनि बोलेकी छन् । उनले सामाजिक सञ्जालमा गरेको पोस्टको सार भने नाबालिकामाथि सहमतिमै यौन सम्बन्ध हुनु पनि बलात्कार हो । ‘२० वर्षमुनिका छोरीहरू बालिका हुन् । बालिका कानुनतः सबै प्रकारका सुरक्षा र अभिभावकत्व प्राप्त गर्ने अधिकार राख्दछन् । समाजको भूमिका उनीहरूलाई संरक्षण गर्ने हो । कोसँग लभ छ ? कतिपटक यौनसम्पर्क भयो ? यस्ता नैतिकतावादी कुराको कानुनलाई मतलब हुनुहुँदैन । समाजको आडम्बर त कुरा गरिसाध्य छैन । केटी मान्छे भनेपछि दुनियाँभरि कतै नभएका नैतिक मापदण्ड र हिलो छ्याप्ने चलन लज्जाजनक रूपमा नेपालमा ब्याप्त छ,’ उनले लेखेकी छन् ।
हो, मुद्दा अदालतमा गएपछि बोल्नुभन्दा तटस्थ रहनु बेस होला । तर यो बेला ‘आइएम विथ पल’ का अभियन्ता भने सडकमा समेत नाराबाजी गरिरहेका छन् । प्रसिद्धीकै आवरणमा पूजा शर्माले पलको पक्ष लिएर दर्शकलाई भावनात्मक ब्याकमेल गरिरहेकी छन् । उनीहरूलाई रुवाएर उचालिरहेकी छन् ।
हुन त कलाक्षेत्रका केही मानिसले चर्चा र सफलताको उच्च बिन्दुमा पुगेका बेला आफू सामाजिक कानुनभन्दा माथि छु भन्ने भ्रम पालिरहेकै हुन्छन् । यस्ता मानिसले सामाजिक मूल्य र मान्यताभन्दा बाहिर गएर काम गर्ने र आफ्ना काम सबै हिसाबले समाजका निम्ति पाच्य हुन्छ भन्ने भावना राख्छन् ।
पलको प्रकरणअगाडि हास्यव्यङ्ग्य गायक प्रकाश ओझा पनि यौन दुर्व्यवहारको केसमा मुछिएका थिए । ओझापछि यसरी कुनै कलाकारमाथि उजुरी परेको यो दुर्लभ तथा दोस्रो घटना हो । ओझाले आफ्नो प्रभावमा पारेर तीन नाबालिगमाथि यौन शोषण गरेको आरोप लागेको थियो, जतिबेला उनी हिट थिए ।
ओझाले २०५९ सालदेखि लगातार दुई वर्षसम्म डर त्रास देखाई अनुचित प्रभावमा पारी तीनजना नाबालिकासँग अनैतिक सम्बन्ध राखेको प्रमाणित भएको थियो । उनले पटक–पटक धम्की दिएर यौन शोषण र अप्राकृति मैथुन गरेको र तस्बिर वेभसाइटमा समेत राखेको ठहर गर्दै अदालतले ओझालाई १० वर्ष कैद सजाय सुनाएको थियो । उनलाई सर्वोच्चले २०७३ साल माघ ४ गते सजाय सुनाएको थियो । अहिले जेलबाट निक्लिएर पुनः आफ्नो पेसामा फर्किएका छन् ।
ओझामाथि अनुसन्धान भइरहँदा कसैले पनि प्रकाश ओझा आइएम विथ यु भनेनन्, जस्टिस फर प्रकाश भनेन् । अहिले पलमाथि पर्दाचाहिँ उनको बचाउमा किन ? हुन त प्रसिद्धि हासिल गरेकालाई गलत काममा पनि जोगाइराख्ने दलालतन्त्र रङ्ग क्षेत्रमा व्यापक छ । पल प्रकरणमा पनि त्यही देखिन्छ। भरसक्दो सबै कलाकार पललाई जोगाउने र पीडित बालिकाको पीडालाई ‘बाल’ हानिरहेका छन् ।