स्थापनाको ११९ वर्षपछि भक्तपुर अस्पतालमा पहिलोपटक बालबालिकाका लागि आइसियु सेवा आइतबारदेखि सुरु हुने भएको छ ।
अस्पतालमा वर्षौंदेखि प्रसूति वार्ड सञ्चालनमा रहे पनि बालबालिकाका लागि आइसियु सेवा नहुँदा आकस्मिक अवस्थामा आमा र बच्चालाई अन्य अस्पताल रिफर गर्नुपर्ने अवस्था थियो । अब सो अवस्थाको अन्त्य हुने भएको छ ।
भक्तपुर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा सुमित्रा गौतमले अस्पतालमा पहिलोपटक बच्चाका लागि भेन्टिलेटरसहितको एनआइसियु सञ्चालनमा ल्याउन सफल भएको बताइन् ।
उनले भनिन्, “प्रसूति सेवा राम्रो रहेको भक्तपुर अस्पतालमा बच्चाको आइसियु नहुँदा बेला बेलामा समस्या हुने गरेको थियो, अब त्यसको अन्त्य भएको छ, २० शय्याको एनआइसियु सञ्चालनको तयारी पूरा भएको छ ।”
आगामी फागुन १ गतेदेखि बच्चाका लागि १० शय्या र १८ वर्षभन्दा मुनिकाका लागि १० शय्याको भेन्टिलेटरसहितको आइसियु सञ्चालनमा आउने गौतमले जानकारी दिइन् ।
आवश्यक सबै तयारी पूरा गरेर जनशक्तिसमेत परिचालन गरिएको छ । तीन वर्ष अगाडिसम्म आइसियु नै नभएको भक्तपुर अस्पतालमा मेसु डा गौतम आएपछि अस्पतालको मुहार फेरिएको स्थानीयबासी बताउँछन् । अस्पतालमा डेढ वर्षदेखि भेन्टिलेटरसहितको १६ आइसियु सञ्चालनमा छ ।
मेसु डा गौतमका अनुसार भेन्टिलेटरसहितको ६ शय्याको आइसियू कोरोना संक्रमितका लागि प्रयोग भइरहेको छ भने भेन्टिलेटरसहितको १० शय्याको आइसियु अरु बिरामीका लागि प्रयोग भइरहेको छ ।
आइतबारदेखि बच्चाको २० शय्याको आइसियु सुरु भएसँगै भक्तपुर अस्पतालमा भेन्टिलेटरसहितको ३६ शय्याको आइसियु सञ्चालन हुनेछ । डा गौतमले भनिन्, “भक्तपुर अस्पतालमा उपचारका लागि आएका बिरामीले अब आइसियु छैन, डाक्टर छैनन्, सुविधा छैन भनेर अन्यत्र जानु पर्दैन, भक्तपुर अस्पताल बिरामीलाई निःशुल्क गुणस्तरीय स्वास्थ्य सेवा दिन सक्षम भएको छ ।”
अस्पतालले अक्सिजनसमेत उत्पादन सुरु गरेको छ । अस्पतालले सञ्चालनमा ल्याएको लिक्विड प्लान्टबाट दैनिक ५० सिलिण्डर अक्सिजन उत्पादन भइरहेको छ भने फागुन २ गतेदेखि ग्याँस अक्सिजन पनि उत्पादन सुरु गर्नेछ ।