भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले भूमि सम्बन्धी समस्या सदाका लागि अन्त्य गर्ने गरी कामलाई तीव्र बनाइएको बताएकी छिन् ।
धनुषा जिल्लाको जनकपुर उपमहानगरपालिका वडा नं. १९ मा रहेको गाउँ ब्लकमा रहेकाहरूलाई लालपुर्जा वितरण गर्दै मन्त्री श्रेष्ठले कोही पनि वास्तविक भूमिविहीन भूमि पाउनबाट वञ्चित हुन नपरोस् भनेर अभियान नै सञ्चालन गरेर सरकारले लालपुर्जा वितरणको काम सुरु गरेको बताइन् ।
मन्त्री श्रेष्ठले जमिन भएर पनि लालपुर्जा नहुँदा भूमिविहीन बनिरहेकाहरूको समस्या देशभरबाट अन्त्य गर्ने गरी सरकार लागिरहेको भन्दै वास्तविक भूमिहीन कोही पनि भूमि प्राप्त गर्नबाट वञ्चित नहुन र गलत मान्छेले भूमि नपाउन भन्नेमा सबै चनाखो बन्नु पर्नेमा पनि जोड दिइन् ।
उनले भूमि विहीनहरूलाई लालपुर्जा वितरणको कामलाई पहिलो प्राथमिकतामा राखेर सरकार अगाडी बढिरहेको भन्दै संविधानमा व्यवस्था भएको भूमिहीन दलित, भूमिहीन सुकुम्वासीलाई जग्गा वितरण गर्ने र अव्यवस्थित बसोबासको व्यवस्थापनको काम समेत सुरु भइसकेको बताइन् ।
राष्ट्रिय भूमि आयोगले हालसम्म २८ जिल्लामा काम सुरु गरिसकेको र ६८ स्थानीय तहसँग सम्झौता गरेर काम भइरहेको पनि बताइन् ।