असली मह भनेर गुणस्तरहीन महको उत्पादन र बिक्री गर्ने एकजनालाई राजधानीबाट प्रहरीले नियन्त्रणमा लिएको छ ।
बिहीबार महानगरीय अपराध महाशाखाको विशेष टोलीले स्पर्श हनी नामक ब्रान्डका ३८ वर्षीय सञ्चालक नर बहादुर श्रेष्ठलाई पक्राउ गरेको हो ।
प्रहरीले गोप्य सूचनाका आधारमा मिसावट गरी गुणस्तरहीन मह बनाइरहेकै अवस्थामा प्रहरी टोलीले श्रेष्ठलाई नयाँबजार, ज्याठाबाट पक्राउ गरेको हो । उनी ‘नतिजा प्याकेजिङ’का सञ्चालक हुन् । प्रहरीले उनीसहित मह बनाउनको लागि प्रयोग गरिने विभिन्न प्रकारका सामग्री, मेसिन, केमिकलहरु र गुणस्तरहीन मह ७ हजार ६०० किलो तयारी मह र कच्चा महसमेत बरामद गरेको छ ।
प्रारम्भिक अनुसन्धानका क्रममा उनले गुणस्तरहीन मह बनाउनको लागि ३० प्रतिशत ग्लुकोज, ३० प्रतिशत चिनी र बाँकी ४० प्रतिशत मह बनाउन प्रयोग हुने कच्चा पदार्थ मिसावट गर्ने गरेको पाइएको छ । उक्त गुणस्तरहीन मह हाल प्रतिकिलो ६५० रुपैयाँको दरमा बिक्री बितरण गर्दै आएको छ ।
उक्त मह खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, बबरमहलमा परिक्षण गर्दा एएमएफ र एफ जी अनुपातको मात्रा नेपाल सरकारद्वारा तोकिएको अनिवार्य गुणस्तर अनुरुप नरहेको र मह खान योग्य नरहेको खुलेको छ ।