नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले मैदानमा गएर ‘ए’ डिभिजन लिगका खेलहरू नहर्ने घोषणा गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत अलमुताइरीले मैदानमा गएर लिगका खेल नहेर्ने बताउँदै टिभीमै हेर्ने घोषणा गरे ।
लिगमा सहभागी केही क्लबहरूले अलमुताइरीले बन्द प्रशिक्षमा परेका खेलाडीलाई विभिन्नखाले दबाब दिएको आरोप लगाएका थिए । अलमुताइरीको व्यवहारबाट रुष्ट रहेको जनाउँदै ती क्लबहरू आफ्ना खेलाडीमाथि चर्को दबाब दिएको आरोप लगाएका थिए ।
लिगकै क्रममा अलमुताइरीले मौरिसससँगको खेलको तयारीका लागि ३५ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएका थिए । त्यसमा अलमुताइरीले अनुभवी खेलाडीलार्ई छनोट नगरेको अनि छनोटमा समावेश खेलाडीलाई चर्को दबाब दिएको क्लबहरूको आरोप छ । ती क्लबका अनुसार अलमुताइरीले मौरिससको टिमका बारे अध्यन गर्ने काम खेलाडीलाई सुम्पिएएका छन् ।
यस्तै, खेलाडी छनोट समितिसँग दर्शकदीर्घामा बसेर फुटबलरको प्र्रदर्शन हेरेर थप दबाब सिर्जना गरेको उनीहरूको आरोप छ । अनि खेलाडीले आफ्ना क्लबका लागि शतप्रतिशत प्रदर्शन नगरेमा बन्द प्रशिक्षणमै बोलाइएका खेलाडीले पनि मैत्रीपूर्ण खेल खेल्न नपाउने भन्दै दबाब दिएको आरोप ती क्लबहरूको छ ।
जसको खण्डन गर्दै अलमुताइरीले फेसबुकमा लेखेका छन्, ‘मैले खेलाडीलाई उनीहरूको क्लबका लागि शतप्रतिशत दिएनौ भने कहिल्यै सोधेकै छैन र सोध्ने पनि छैन । मलाई के लाग्छ भने जसले आफ्नो क्लबका लागि शतप्रतिशत दिँदैन, उसले राष्ट्रका लागि पनि शतप्रतिशत दिने छैन ।’
‘मलाई थाहा छ, लिग र क्लब फुटबल विकासका मुख्य तत्व हुन् यसैले खेलाडीलाई मैले कसरी सोध्न सक्छु कि क्लबका लागि शतप्रशित दिएनौ भनेर ?’, उनले थपे, ‘यदि, मेरो उपस्थितिले लिगका खेलहरूमाा खेलाडी वा क्लबका लागि दबाब हुन्छ भने मसँग एउटा समाधान छ, म टिभीमा खेलहरू हेर्छु । म क्लब र लिगका सबै खेलाडीहरूलाई शुभकामना दिन्छु । जय नेपाल !’
उनी रिसाएको पहिलो पटक भने होइन । यसअघि पनि अलमुताइरीले नेपालको प्रशिक्षकमा नियुक्त भएपछि युवा टिमलाई समावेश गर्दै टोलीको घोषणा गरेका थिए । एएफसी कोचिङ इन्स्ट्रक्चारसमेत रहका उनी गत वर्ष चैतमा नेपाली टिमको मुख्य प्रशिक्षकमा नियुक्त भएका थिए ।
त्यसबेला भरत खवासलगायत अनुभवी खेलाडीले टिममा स्थान बनाउन सकेका थिएनन् । त्यसबेला आलोचनाको सिकार भएका उनी खेलाडी छान्ने आफ्नै शैली रहेको भन्दै आलोचना गर्नेविरुद्ध खनिएका थिए । त्यसको केही समयपछि एन्फाको व्यवस्थापन टिमसँग झगडिएका उनले पुनः नेपाली क्लबहरूविरुद्ध रिस पोखेका हुन् ।
उनी एएफसी कोचिङ इन्स्ट्रक्टरसमेत हुन् । उनको नेतृत्वमा नेपाली टिम ऐतिहासिक रूपमा साफको फाइनलसम्म पुगेको थियो । उनले ऐतिहासिक रूपमा नेपाललाई एसियन कप छनोटको तेस्रो चरणमा पुर्याएका थिए । अलमुताइरीलाई नेपालले अनुदानमा पाएको हो । कतार फुटबल सङ्घसँग अनुरोध गरेर एन्फाले अलमुताइरीलाई नेपाल ल्याएको हो । अलमुताइरीले काम नेपालमा गरेपनि उनलाई तलब कतारले दिन्छ ।