नेपाली कांग्रेसको जारी महाधिवेशनमा सभापति पदको दोस्रो चरणको निर्वाचन भइरहेको छ ।
मंगलबार भएको निर्वाचनमा सभापति पदका कुनै पनि उम्मेदवारले ५० प्रतिशतभन्दा बढी मत ल्याउन नसकेपछि मंगलबार अपरान्ह सवा ३ बजेपछि दोस्रो चरणको निर्वाचन भइरहेको छ ।
पहिलो चरणको निर्वाचनमा शेरबहादुर देउवा, शेखर कोइरालासँगै प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङ प्रतिस्पर्धामा थिए । तर, दोस्रो चरणमा भने देउवा र कोइरालामात्र छन् ।
अहिले मतदान चलिरहँदा मतदानस्थलमा प्रकाशमानले शेरबहादुरलाई भोट मागिरहेका छन् । सोमबार आफूलाई सभापतिमा निर्वाचित गर्न भन्दै भोट मागेका प्रकाशमानले मंगलबार देउवालाई जिताउन भोट मागेका हुन् ।
पहिलो पटक कुनै पनि उम्मेदवारले ५० प्रतिशत भन्दा बढी मत नल्याएमा सबैभन्दा बढी मत ल्याउने दुई जना बीच पुनः मतदान हुन्छ । विधान अनुसार, पुनः मतदान हुँदा बढीमत प्राप्त गर्ने उम्मेदवार विजयी हुनेछ । यसैबीच सभापति पदका प्रत्यासी देउवालाई पहिलो चरणका सभापतिका अन्य प्रत्यासीहरु सिंह, निधि र गुरुङले समर्थन गरेका छन् ।