अर्घाखाँचीको शितगंगा नगरपालिकाको–२ सितापुरमा अरिङ्गालको टोकाइबाट ९ जना घाइते भएका छन । आइतबार दिउँसो खेतमा धान काटिरहेको समयमा अरिङ्गालले टोक्दा उनीहरू घाइते भएको इलाका प्रहरी कार्यालय ठाडाले जनाएको छ ।
घाइतेमध्ये तीनजनाको अवस्था गम्भीर रहेको र उनीहरूलाई थप उपचारका लागि बुटवल रेफर गरिएको छ । बाँकी ६ जनाको स्थानीय सितापुर स्वास्थ्य चौकीमा उपचार भइरहेको छ ।
अरिङ्गालले टोक्दाको असर
अरिङ्गाल पनि बिभिन्न प्रकारका हुन्छन् । कुनै धेरै विषालु हुन्छन्, कुनै कम । रातो अरिङ्गालको तुलनामा कालो अरिङ्गाल विषालु हुन्छ । रातो एउटाले टोक्दा त्यति धेरै दुख्दैन । तर एउटै कालो अरिङ्गालले टोक्यो भने मान्छेलाई थला नै पार्छ । अझ धेरैले टोक्यो भने त मान्छेको ज्यानै जान सक्छ ।
अरिङ्गालले टोक्दा मृगौला र कलेजोले काम गर्न छाड्ने, एलर्जी हुने, सास फेर्न गाह्रो हुने जस्ता समस्या देखिन्छ । मुटुको चाल अनियन्त्रित भएर हृदयघात समेत हुन सक्छ ।
‘एलर्जीका कारण रक्तचाप कम हुने र सास फेर्न गाह्रो हुने जस्ता स्वास्थ्य समस्या देखिन्छ’ शिक्षण अस्पताल महाराजगंजका डा. महेशराज सिग्देलले भने ।
टोकेमा के गर्ने ?
एउटा, दुईटासम्म अरिङ्गालले टोक्दा त खासै केही हुँदैन । तर धेरै अरिङ्गालले टोक्दा ज्यानै जाने सम्मको खतरा हुन सक्छ । सामान्यतया २० वटा भन्दा धेरै अरिङ्गालले टोक्दा खतरा बढी हुने गरेको डा. सिग्देल बताउँछन् ।
उनका अनुसार अरिङ्गालले टोक्ने बित्तिकै नजिकको स्वास्थ्य संस्थामा जानुपर्छ । बिरामी बेहोस छ भने ढिलो गर्नु हुँदै हुँदैन । धेरैले टोकेमा बिरामीको पिसाबको मात्रामा ध्यान दिनुपर्छ । पिसाबको मात्रा कम हुँदा मृगौलामा समस्या हुन सक्छ । त्यसैले शरीरमा पानीको मात्रा नियन्त्रित राख्न प्रशस्त झोलिलो पदार्थ तथा जीवनजल खुवाउनुपर्छ । थोरै अरिङ्गालले टोकेको छ भने ज्वरो आउन सक्छ । यस्तो बेला सिटामोल खाँदा पनि ठीक हुन्छ । तर स्वास्थ्य संस्था नजिक छ भने चाहिँ थोरैले टोक्दा पनि देखाउनु राम्रो हुने डाक्टरहरु बताउँछन् ।
टोक्ने बित्तिकै खिल निकाल्नु राम्रो
अरिङ्गाल, बारुलो लगायतलाई विषालु किराको रुपमा चिनिन्छ । यस्ता किराले टोक्दा टोकेको ठाउँमा खिल छोड्छ । खिलमा विष हुने भएकाले टोक्ने बित्तिकै शरीरमा फैलिन्छ । यसबाट शरीर सुन्निने, चिलाउने र संक्रमण हुने खतरा हुन्छ । त्यसैले छालामा गाडिएको खिललाई छिटो निकाल्न सकेमा शरीरमा विष फैलिन र संक्रमण हुन कम हुन्छ । तर खिल झिकिसकेपछि पनि एलर्जी हुने, सास फेर्न गाह्रो हुने जस्ता समस्या देखिने भएकाले छिटो स्वास्थ्य संस्थामा जानुपर्छ ।