पछिल्लो समय गोरखाको आरुघाट गाउँपालिकामा ‘स्क्रब टाइफस’ रोगको जोखिम बढ्दै गएको छ ।
यहाँका स्वास्थ्य संस्थामा उपचारका लागि आउने बिरामीमा स्क्रब टाइफस देखिन थालेपछि जोखिम बढ्दै गएको हो । गाउँपालिकामा स्क्रब टाइफसका २५ जना सङ्क्रमित भेटिएका छन् ।
गाउँपालिकाभित्रका विभिन्न स्थानमा स्क्रब टाइफसका बिरामी भेटिएको गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख विजय श्रेष्ठले बताए । विगतका वर्षमा फाट्टफुट्ट मात्र देखिए पनि यस वर्ष स्क्रब टाइफसका बिरामीको सङ्ख्या बढेको छ ।
लामो समयसम्म ज्वारो आएर उपचारका गराउँदा पनि निको नभएपछि गाउँपालिकाका स्वास्थ्य शाखाले स्क्रब टाइफस आशङ्कामा परीक्षण गराउँदा उनीहरुमा सङ्क्रमण पुष्टी भएको हो । स्वास्थ्य चौकीमा नै आएर उपचार गर्दासमेत ज्वरो धेरै लामो समयमा निको नभएपछि स्वास्थ्य शाखाले स्क्रब टाइफसको किटको प्रयोग गरी परीक्षण गर्दा उनीहरुमा सङ्क्रमण पुष्टी भएको बताइएको छ ।
सङ्क्रमण पुष्टी भएका सबैको स्वास्थ्य अवस्था अहिले सामान्य रहेको स्वास्थ्य शाखा प्रमुख श्रेष्ठले बताए ।
वर्षात्मा पानीका मुहान सफा नहुँदा पानीजन्य रोग देखापर्ने गरेको स्वास्थ्यकर्मीले बताएका छन् । यो समयमा किर्नालगायतका किराले टोक्ने भएकाले स्क्रब टाइफसका बिरामी पनि देखिने गरेका प्रमुख श्रेष्ठको भनाइ छ ।
कोभिड–१९ सँग मिल्दाजुल्दा लक्षण
यसैबीच नेपाल सरकारले केही दिनअघि कोभिड–१९ सँग मिल्दोजुल्दो लक्षण भएको ‘स्क्रब टाइफस’ रोग देखिन थालेको जनाएको थियो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले विज्ञप्ति जारी गर्दै कोभिड–१९ का लक्षणसँग मिल्दाजुल्दा रोग स्क्रब टाइफस देखिन थालेकाले उक्त रोगसँग सचेत रहनसमेत अनुरोध गरेको छ ।
कोभिड–१९ जस्तै स्क्रब टाइफसमा मानिसलाई उच्च ज्वरो आउने, आँखा रातो हुने, खोकी, वान्ता, पेट दुखाइ र पखालाले सताउने, सास फेर्न समस्या हुने, धेरै टाउको दुख्ने, जोर्नी तथा मांसपेशी दुख्ने, बिमिरा देखिने, टोकेको ठाउँमा कहिलेकाहीँ कालो दागजस्ता लक्षण देखिने गर्दछ । स्क्रब टाइफस ‘ओरिन्सिया सुसुगामासी’ जीवाणुले सङ्क्रमित एक प्रकारको सानो किर्नाको टोकाइबाट मानिसमा सर्ने रोग हो । स्क्रब टाइफसले मस्तिष्क, कलेजो, फोक्सोलगायतमा सङ्क्रमण र कहिलेकाहीँ बहुअङ्ग विकार (मल्टी अर्गन डिल्फसन)को अवस्था पनि सिर्जना हुनसक्ने छ ।
के हो ‘स्क्रब टाइफस’ ?
स्क्रब टाइफस रोग मुसाको कानमा वा अन्य जीवजन्तुमा हुने सङ्क्रमित किर्नाले मानिसलाई टोकेपछि सर्ने गर्दछ । समयमा नै रोगको पहिचान गरी औषधि सेवन गरे यो रोग निको हुने गर्दछ । यसको समयमा नै उपचार नगरे यसले गम्भीररुप लिनसक्ने स्वास्थ्यकर्मीले बताएका छन् ।
बच्ने उपाय
किर्नाको टोकाइबाट बच्न खेत, झाडी वा वनजङ्गलमा जाँदा लामो बाहुला भएको कपडा र उपयुक्त जुत्ता लगाउने तथा शरीरको खुला भागमा कीटनाशक मलहमको प्रयोग गर्ने, घर वरिपरिका खेताबारीमा घाँस धेरै बढ्न नदिने र वातावरण सफा राख्ने, मुसा नियन्त्रणका लागि उपयुक्त किसिमको अन्न भण्डारण गर्नुपर्ने बताइएको छ ।