एएफसी महिला एसियन कप–२०२२ छनोटको पहिलो खेलमा नेपाल फिलिपिन्ससँग पराजित भएको छ । शनिबार उज्वेकिस्तानमा भएको खेलमा नेपालले फिलिपिन्ससँग २–१ गोलको हार बेहोरेको हो ।
जेएआर स्टेडियममा खेलको अन्तिम समय जोगिन नसक्दा फिलिपिन्ससँग नेपाल पराजित भएको हो । नेपालले पहिलो हाफमा अग्रता बनाएको थियो । नेपालका लागि खेलको १० औँ मिनेटमा विमला चौधरीले गोल गरेकी थिइन् ।
तर दोस्रो हाफमा फिलिपिन्सले नेपालको अग्रता उल्टाउँदै जित दर्ता गरेको हो । फिलिपिन्सले ९०औँ मिनेटमा बराबरी गोल गरेको थियो भने इन्ज्युरी समयमा अर्को गोल थपेको थियो ।
अहिलेसम्म नेपाल र फिलिपिन्सबीच दुई खेल भएकोमा दुवैमा नेपाल पराजित भएको छ । यसअघि सन् १९९९ मा नेपालले एएफसी वुमेन्स च्याम्पियन्सिपमा फिलिपिन्सको सामना गरेको थियो । त्यसमा नेपाल ५–० ले पराजित भएको थियो ।
यससँगै समूह ‘एफ’को नेपालले हारबाट छनोटको सुरुआत गरेको छ । फिलिपिन्सले भने तीन अङ्क जोड्दै शीर्ष स्थान कब्जा गरेको छ ।