यसै सिजन फ्रान्सेली क्लब लियोनबाट क्याप नोउ आएका मेम्फिस डिपेले डेब्यु गोल गर्दा स्पेनिस ला लिगामा बार्सिलोना सम्भावित हारबाट जोगिएको छ । शनिबार राति अवे मैदानमा बार्सिलोनाले एथ्लेटिक बिल्बाओसँग १–१ गोलको बराबरी खेलेको हो ।
बिल्बाओको मैदानमा भएको खेलमा घरेलु टिमले सुरुवाती अग्रता बनाएको थियो । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको उक्त खेलको ५०औँ मिनेटमा इनिगो मार्टिनेजले गोल गर्दै बिल्बाओलाई सुरुआती अग्रता दिलाए ।
खेलको ७५औँ मिनेटमा मेम्फिस डिपेले गोल गर्दै बार्सिलोनालाई सम्भावित हारबाट जोगाए । डिपेले ला लिगामा पहिलो गोल गरेका हुन् । यसअघि उनले मैत्रीपूर्ण खेलमा गोल गरेपनि ला लिगाको पहिलो खेलमा गर्न सकेका थिएनन् ।
यस्तै, खेलको इन्ज्युरी समयमा भने बार्सिलोना १० खेलाडीमा सीमित बनेको थियो । बार्सिलोनाका इरिक गार्सियाले रातो कार्ड पाएका थिए ।
यस बराबरीसँगै बार्सिलोनाले दुई खेलमा चार अङ्क जोडेको छ । यसअघि उसले रियल सोसिडाडमाथि ४–२ गोलको जित निकालेको थियो । बिल्बाओको भने यो दोस्रो बराबरी हो । पहिलो खेलमा ऊ इल्चेसँग गोलरहित बराबरीमा रोकिएको थियो ।
यस्तै, गए रातिकै अर्को खेलमा रियल बेटिस र काडिन, ग्रानडा र भ्यालेन्सिया तथा स्पान्योल र भिल्लारियलले बराबरी खेल्दै अङ्क बाँडेका छन् भने अल्भेसमाथि मल्लोर्काले जित दर्ता गरेको छ ।