साविक विजेता म्यानचेस्टर सिटीले इङ्ग्लिस प्रिमियर लिगमा फराकिलो जित निकालेको छ । शनिबार राति आफ्नो मैदान इतिहादमा सिटीले नर्विच सिटीमाथि ५–० गोलान्तरको फराकिलो जित निकालेको हो ।
सिटीलाई जिताउन ज्याक ग्रिसिस, आएमेरिक लापोर्टे, रहिम स्टर्लिङ र रियाद महरेजले एक–एक गोल गरे । एउटा आत्मघाती गोल सिटीले उपहारमा पाएको थियो । खेलको सातौँ मिनेटमा नर्विचका टिम क्रुलले आत्मघाती गोल गरेपछि सिटीले सुरुआती अग्रता बनाएको थियो ।
२२औँ मिनेटमा ग्रिलिसले गोल गर्दै सिटीलाई पहिलो हाफमा २–० गोलको अग्रता बनाए । सिटीका लागि ग्रिलिसको यो पहिलो गोल हो । ६४औँ मिनेटमा लापोर्टेले गोल गर्दै सिटीको अग्रता तेब्बर बनाउँदा ७१औँ मिनेटमा स्टर्लिङ र ८४औँ मिनेटमा महरेजले गोल गर्दै घरेलु टिमलाई फराकिलो जित दिलाए ।
जितसँगै सिटीले दुई खेलमा तीन अङ्क जोडेको छ । यसअघि पहिलो खेलमा सिटी टोटनह्याम हटस्परसँग १–० गोलले पराजित भएको थियो ।
यता, नर्विचको भने यो दोस्रो हार हो । ऊ पहिलो खेलमा लिभरपुलसँग पराजित भएको थियो ।
यस्तै, गए राति नै भएको अर्को खेलमा लिभरपुलले बर्न्लीमाथि २–० गोलको जित निकालेको छ । एन्फिल्डमा लिभरपुललाई जिताउन डिएगो जोटा र साडियो मानेले एक–एक गोल गरे ।
यो जितसँगै दुई खेलमा जित निकालेको लिभरपुल ६ अङ्क जोड्दै शीर्ष स्थानमा उक्लिएको छ । बर्न्लीको भने यो दोस्रो हार हो । यसअघि ऊ ब्राइटनसँग पराजित भएको थियो ।