अर्जेन्टिनी स्ट्राइकर लियोनल मेस्सीले फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) आवद्ध हुँदाताका नै आफ्नो सपना सुनाएका थिए । बार्सिलोनाको २१ वर्षे बसाइ अन्त्य गरेर फ्रान्सको राजधानी बसाइँ सरेका मेस्सी आगामी सिजन युइएफए च्याम्पियन्स लिगको उपाधि जितेर थप ट्रफी गोदाममा भित्र्याउने सपना देख्छन् । यस्तै सपना पिएसजीको पनि छ ।
च्याम्पियन्स लिगको ५९ वर्षे इतिहासमा एकपटक २०२० को फाइनलसम्म पुगेको पिएसजीले उपाधि जित्न सकेको छैन । उक्त सिजन पिएसजीले जर्मन क्लब बायर्नसँग १–० गोलले पराजित हुँदै पहिलो पटक च्याम्पियन्स लिग जित्ने मौका गुमाएको थियो । स्टार खेलाडीमाथि महँगो रकम खर्चिएपनि पिएसजीका लागि च्याम्पियन्स लिग एउटा सपनामा मात्र सीमित बन्न पुगेको छ ।
बार्सिलोनासँग सम्झौता सकिएको अवस्थामा पिएसजीले मेस्सीलाई फ्री–ट्रान्सफरमा भित्र्याएको थियो । पिएसजीले मेस्सीलाई खोस्न सफल हुनुको कारण भनेको नै आर्थिक समस्या थियो । यो कुरा बार्सिलोनाका अध्यक्ष जोन लापोर्टाले खुलासा गरिसकेका छन् । उनले क्लब एक अर्ब १५ करोड पाउन्ड ऋणमा रहेको बताएका थिए ।
उनका अनुसार क्लबले दिने भुक्तानी हाल कुल आम्दानीको करिब १०३ प्रतिशत हो । जुन ला लिगाकै अन्य क्लबको भन्दा करिब २० देखि २५ प्रतिशत बढी हो । लार्पोटाले निवर्तमान अध्यक्ष जोसेप मारियाका कारण ऋणको दायित्व बढेको आरोप लगाएका थिए । लियोनल मेस्सीको सम्झौता थप्दा बार्सिलोनाको नियमित तलब भुक्तानी आम्दानीको अपेक्षा ११० प्रतिशतसम्म पुग्ने थियो । तर ला लिगाले मेस्सीको अनुबन्धन थप्ने बार्सिलोनाको प्रस्ताव अस्वीकार गरेको उनको भनाइ थियो ।
आर्थिक समस्याका कारण स्पेनबाट फ्रान्स बसाइँ सरेका मेस्सीले पिएसजीका अध्यक्ष नासर अल खिलाइफीसमक्ष च्याम्पियन्स लिगको उपाधि जित्नु आफ्नो सपना रहेको सुनाएपछि उनी खुसीले गद्गद् भएका थिए । किनकि, खिलाइफी क्लब पिएसजी र मेस्सीको सपना एकै नासको थियो । अझ, विभिन्न कार्यक्रममा मेस्सीले आफ्नो सपना दोहो¥याइरहँदा पिएसजीलाई च्याम्पियन्स लिगमा थप आश बढेको छ ।
मेस्सी पनि लामो समयदेखि च्याम्पियन्स लिगको भोका छन् । सन् २००६, २००९, २०११ र २०१५ मा च्याम्पियन्स लिग जित्न सफल उनी त्यसयता यसका लागि सङ्घर्षरत छन् । अब, सात वर्षपछि मेस्सीको सपना पिएसजीको ५९ वर्षअगाडिको सपनासँग मेल खाएको छ । यसले पनि दुवैमा आश पलाएको छ ।