कोरोना सङ्क्रमितलाई दिइने जीवन रक्षक औषधीहरूको चरम अभाव भएपछि ती बिरामीका लागि प्रयोग हुने ‘टोसिलिजुमाव इन्जेक्सन’ (औषधि) को तेस्रो खेप काठमाडौँ भित्रिएको छ । यतिकेम डिस्ट्रिव्युटर प्रालिले सोमबार तेस्रो खेपको रूपमा थप २०० भाइल टोसिलिजुमाव इन्जेक्सन (औषधि) काठमाडौँ ल्याई पुर्याएको हो ।
यसअघि सो औषधिको अभाव हुँदा बिरामीका आफन्तहरू भौँतारिनुपरेको थियो भने केही आफन्त भारतसम्म औषधि खोज्न जानुपरेको थियो । बिरामीका लागि एक वा दुई भाइल प्रयोग हुँदै आएको यो औषधिको मूल्य प्रतिभाइल ५९ हजार ८५० रुपैयाँ तोकिएको छ ।
बिरामीका आफन्तले तोकिएको मापदण्ड पुरा गरेर आएमा सो औषधि प्राप्त गर्न सक्नेछन् । औषधि व्यवस्था विभागले गत १७ वैशाखमा यतिकेमलाई २ हजार भाइल टोसिलिजुमाव ल्याउन अनुमति दिएको थियो । यतिकेमले पहिलो खेप गत १४ जेठमै ५०० भाइल, २६ असारमा ३०० भाइल ल्याइसकेको छ । हालसम्म कुल १ हजार भाइल नेपाल भित्रिएको छ ।
‘टोसिलिजुमाव इन्जेक्सन’ स्विजरल्याण्डबाट आयात हुने र फ्लाइट सेडुअल नमिल्दा ढिलाइ हुँदै आएको छ । यसअघि चिकित्सकहरूले औषधी सिफारिस गरे पनि सो औषधीहरू बजारमा पाउन हम्मे–हम्मे परेको थियो ।
भारतले ब्ल्याक फङ्गसको लागि प्रयोग हुने औषधी एम्पोटेरीसीयन ‘बी’, ढुसीमा प्रयोग हुने औषधी आयातमा प्रतिबन्ध लगाएपछि बजारमा सो औषधिको चरम अभाव छ ।
औषधी व्यवस्था विभागका प्रवक्ता सन्तोष केसीले सरकारले नेपाललाई औषधीमा आत्मनिर्भर गराउन प्रोत्साहन गर्ने बताए ।