स्टार खेलाडीहरूले छोडेपछि ‘प्रतिष्ठा गुमाएको’ स्पेनिस ला लिगामा रियल म्याड्रिडले पहिलो जित निकालेको छ । शनिबार राति रियलले अल्भेसलाई उसैको मैदानमा ४–१ गोलले हराएको हो ।
रियलको जितमा करिम बेन्जेमाले दुई गोल गरे भने नाचो र भिनिसियस जुनियरले एक–एक गोल गरे । अल्भेसका जोसेलुले एक गोल फर्काए ।
खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । ४८औँ मिनेटमा बेन्जेमाले गोल गर्दै रियललाई सुरुआती अग्रता दिलाए । ५६औँ मिनेटमा नाचोले गोल गरेपछि रियले आफ्नो अग्रता दोब्बर बनायो ।
६२औँ मिनेटमा बेन्जेमाले दोस्रो गोल गर्दै रियलाई ३–० गोलको अग्रता दिलाए । त्यसको तीन मिनेटपछि जोसेलुले पेनाल्टीमा गोल गर्दै अल्भेसलाई ३–१ गोलको अवस्थामा फर्काए ।
खेलको इन्ज्युरी समयमा भिनिसियसले गोल गर्दै रियललाई ४–१ गोलान्तरको शानदार जित दिलाए । यस जितसँगै रियल तीन अङ्क जोडेर शीर्ष स्थानमा उक्लियो । अल्भेसले भने हारबाट ला लिगाको सुरुवात गरेको छ ।