पेरिस सेन्ट जर्मेन (पिएसजी)ले नयाँ सिजनको फ्रेन्च लिग वानमा शानदार जित निकालेको छ । पिएसजीले शनिबार राति आफ्नै मैदानमा स्ट्रासबर्गलाई ४–२ गोलले हराएको हो ।
पिएसजीले लिग वानमा दोस्रो जित निकालेको हो । यसअघि उसले ट्रोयसलाई हराउँदै सुखद सुरुआत गरेको थियो । जितसँगै शीर्ष स्थानमा रहेको पिएसजीले दुई खेलमा ६ अङ्क जोडेको छ । स्ट्रासबर्गको भने यो दोस्रो हार हो । यसअघि ऊ एन्जर्ससँग पराजित भएको थियो ।
गए राति पिएजीको जितमा माउरो इकार्डी, किलियन एम्बाप्पे, जुलियन ड्राक्जलर र पाब्लो सराबियाले एक–एक गोल गरे । स्ट्रासबर्गका केभिन गमेइरो र लुडोभिक अजोर्केले एक–एक गोल गरे ।
खेलको तेस्रो मिनेटमा नै इकार्डीले गोल गर्दै पिएसजीलाई सुरुआती अग्रता दिलाएका थिए । २५औँ मिनेटमा एम्बाप्पेले गोल गर्दै पिएसजीको अग्रता दोब्बर बनाए भने त्यसको दुई मिनेट बित्न नपाउँदै ड्राक्जलरले गोल गर्दै पहिलो हाफभरि ३–० गोलको अग्रता दिलाए ।
५३औँ मिनेटमा जमेइरो र ६४औँ मिनेटमा अजोर्केले गोल गरेपछि स्ट्रासबर्ग ३–२ गोलको अवस्थामा फर्कियो । ८१औँ मिनेटमा एलेक्जन्डर जिकुले रातो कार्ड पाएपछि पाहुना टोली १० खेलाडीमा सीमित बनेको थियो । ८६औँ मिनेटमा सराबियाले गोल गर्दै पिएसजीलाई ४–१ गोलको जित दिलाए ।
यस खेलमा पिएसजीले आफ्ना नयाँ खेलाडी लियोनल मेस्सी, सर्जियो रामोस, जियानलुइगी डोनारुम्मा, गिनी विज्नाल्डम, अच्राफ हाकिमीलगायतलाई मैदानमा ‘शो’ गरेको थियो । त्यसमध्ये विज्नाल्डमले डेब्यु गरेका थिए । हाकिमीले भने केही समय अघिदेखि नै खेल्दै आइरहेका छन् ।
मेस्सी, रामोस, डोनारुम्माले भने यो खेल खेलेनन् । त्यसबाहेक नेयमार र एन्जल डी मारिया पनि यस खेलमा थिएनन् ।