घिरौँला स्वादका लागी मात्र नभई स्वास्थ्यका लागी पनि उत्तिकै फाइदा जनक हुन्छ । जताततै फलेर हो या सस्तो भएर हो, यसको लोकप्रियता जति हुनुपर्ने हो त्यति छैन । अझ भन्नु पर्दा त प्राय मानिसले घिरौँला मन पराएको पाइँदैन।
घिरौँला गृष्म वर्षा यामको लहरे तरकारी हो। यो तरकारी वैशाखदेखि असोजसम्म फल्ने गर्छ । यसमा अत्यधिक मात्रामा रेसादार पदार्थ तथा औषधीय गुण रहेको हुन्छ । यसको सेवनले खानामा रुचि बढाउनुका साथै मुटु र पेटका रोगीहरूलाई फाइदा पुर्याउँछ ।
घिरौँला बेर्ना सारेको ४० देखि ५० दिनमा टिप्न लायक हुन्छ। यसमा चिल्लो पदार्थको मात्रा अत्यन्तै कम हुन्छ । प्रचुर मात्रामा रेसादार पदार्थ, भिटामिन ए, भिटामिन सी, जिङ्क, आइरन, म्याग्नेसियम लगायत शरीरलाई आवश्यक पर्ने महत्त्वपूर्ण सूक्ष्म तत्त्वहरू घिरौँलामा पाइन्छ ।
यस्ता छन् घिरौँलाका फाइदा :
१. शरीरमा रहेका विषाक्त वस्तुहरूलाई हटाई रगत शुद्ध गर्ने र कलेजो स्वस्थ राख्न मद्दत गर्छ ।
२. रगतका नलीहरू बन्द हुनबाट बचाउनुका साथै आमाशयको कार्यमा पनि सहयोग गर्छ ।
३. जन्डिस जस्तो बिमारीको हकमा पनि यसले फाइदा गर्छ ।
४. चिल्लो पदार्थ तथा कोलेस्ट्रोल मात्रा न्यून हुने हुनाले यसले मोटोपना कमी गर्न पनि सहयोग गर्छ ।
५. पानीको मात्रा बढी हुने हुनाले यसले पानीको कमी हुन दिँदैन ।
६. यसमा रहेको इन्सुलिन जस्तो पदार्थले रगत र पिसाबमा रहेको चिनीको मात्रालाई घटाउन मद्दत गर्छ ।
७. यसमा रहेको बेटा क्यारोटिनले आँखाको दृष्टि बढाउन मद्दत गर्छ ।
८. यसको प्रयोगले छालाको सौन्दर्यमा वृद्धि गर्ने र डन्डिफोर जस्ता सङ्क्रमण हुनबाट बचाउँछ ।
९. यसको नियमित प्रयोगले पेटमा हुने अम्लीयपन तथा अल्सर हुनबाट बचाउँछ ।
१०. यसमा एन्टिबायोटिक एन्टिअक्सिडेण्ट तथा एन्टिफंगल गुणहरू पनि रहेको हुन्छ ।