कैलाली । कैलालीमा साढे ५ किलो चरेस र सवा लाख नगद सहित दुई जना पक्राउ परेका छन् । जिल्लाको गौरीगंगा नगरपालिका –८ गिदनियास्थित पूर्वपश्चिम राजमार्गबाट दुई जनालाई पक्राउ गरिएको हो ।
गौरीगंगा नगरपालिका–११ शिवपुर बस्ने वर्ष ४० का गोरख भन्ने गोरे धामी र गोदावरी नगरपालिका–६ बस्ने वर्ष ३५ का धनबहादुर धामीलाई पक्राउ गरिएको हो । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय तथा इलाका प्रहरी कार्यालय मसुरिया कैलालीबाट खटिएको संयुक्त प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।
उनीहरुको साथबाट ५ किलो ५०० ग्राम चरेस र एक लाख २० हजार नगद बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले बताए ।