प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभा बैठकमा विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गरेका छन्। आइतबार प्रतिनिधिसभाको दोस्रो बैठकमा प्रधानमन्त्री देउवाले विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गरेका हुन्।
उनले सभामुख अग्निप्रसाद सापकोटाको अनुमतिमा विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गरेका हुन्। सभामुख सापकोटाले संविधानको धारा ७६ को उपधारा ६ बमोजिम विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गर्न अनुमति दिएका हुन्।
प्रधानमन्त्री नियुक्त भएको मितिले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान छ। असार २९ गते प्रधानमन्त्री नियुक्त भएका देउवाले कार्यकारी प्रमुखको जिम्मेवारी सम्हालेको पाँच दिनमै विश्वासको मत लिन थालेका हुन्।
संवैधानिक इजलासको परमादेश अनुसार राष्ट्रपति भण्डारीले देउवालाई संविधानको धारा ७६ को उपधारा ५ बमोजिम प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन्।