स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यही साउन १५ गतेसम्म ३२ लाख भेरोसेल खोप नेपाल आइपुग्ने जनाएको छ।
सरकारले हालै मात्र चिनियाँ कम्पनी सिनोफार्मसँग ४० लाख डोज खोपका लागि नन डिस्क्लोजेबल एग्रिमेन्ट गरेको थियो। त्यसअनुसार ८ लाख डोज खोप आइसकेको छ भने साउन ६ गतेदेखि थप खोप आपूर्ति हुने मन्त्रालयले जनाएको छ।
मन्त्रालयका सह–प्रवक्ता डाक्टर समिरकुमार अधिकारीले विज्ञप्ति जारी गर्दै कोभिसिल्ड खोपको पहिलो डोज लगाएका ६५ वर्षभन्दा माथिका नागरिकका लागि छिट्टै दोस्रो डोज दिने योजना रहेको बताएका छन्।
मन्त्रालयले केही समयभित्र १८ वर्ष उमेर पुगेका सबै नागरिकले खोप पाउने समेत बताएको छ।
१८ वर्षभन्दा माथिका सबैलाई पुग्ने गरि सरकारले खोप ल्याउने भन्दै त्यसका लागि सरकारले योजना बनाइसकेको मन्त्रालयले स्पष्ट पारेको छ।
‘खोप आपूर्तिको समस्या समाधान गर्दै १८ वर्षमाथिका नेपाली नागरिकका लागि निःशुल्क खोप लगाउने योजना तयार भइसकेको छ’ मन्त्रालयका सहप्रवक्ता डा. अधिकारीले भनेका छन्, ‘हामी सबैले खोप पाउँछौं। सबैले संयमित भइ खोप अभियानलाई सफल बनाउनका लागि सहयोग गरिदिनुहुन अनुरोध छ।’