तीनकुनेबाट गणेश मन्दिरसम्मको वाग्मती किनारमा मानव शरीरमा रोग प्रतिरोधी क्षमता विकास गर्ने ५०० गुर्जोका बिरुवा रोपिएको छ ।
गुर्जो अभियानकर्मी कमलबहादुर राजलवटले उपलब्ध गराएका बिरुवा नदी किनारमा शुक्रबार रोपिएको हो ।
विसं २०७६ चैत ११ गते कोरोना महामारीबाट बच्न निषेधाज्ञा जारी गरिएपछि एक लाख ५० गुर्जोका बिरुवा रोप्न निःशुल्क वितरण गरिएको राजलवटले बताए । यस वर्ष पनि करिब सात हजार बिरुवा रोप्न निःशुल्क वितरण भइसकेको छ ।
आयुर्वेद शास्त्रको ‘यस्य देशस्य यो जन्तो : तस्य तद् औषधं हितम्’ अर्थात् मानिस जुन स्थानमा जन्मन्छ उसलाई औषधिको काम गर्ने वनस्पति त्यहीँ हुन्छ भन्ने वचनका आधारमा प्रत्येक घरमा एउटा गुर्जोको बिरुवा रोपाउने अभियानमा आफू लागेको उनी बताउँछन् । घरसँगै सार्वजनिक स्थलमा पनि गुर्जो रोपेर मानवलाई आवश्यक परेका बेला औषधिका रुपमा उपयोग गर्न सकिने विश्वास लिइएको छ ।