अर्जेन्टिना ४७औँ संस्करणको दक्षिण अमेरिकी फुटबल प्रतियोगिता कोपा अमेरिकाको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । मङ्गलबार बिहान भएको खेलमा पराग्वेमाथि १–० गोलको जित निकाल्दै अर्जेन्टिना क्वार्टरफाइनल पुगेको हो ।
ब्राजिलस्थित नेसनल डी ब्राजिलामा भएको खेलमा अर्जेन्टिनालाई जिताउन एलेजान्द्रो डारियो गोमेजले निर्णायक गोल गरे । खेलको दसौँ मिनेटमा एन्जल डी मारियाको पासमा गोमेजले गरेको गोल अर्जेन्टिनाको जितमा निर्णायक बन्यो ।
जितसँगै समूह ‘ए’को अर्जेन्टिना तीन खेलमा सात अङ्क जोड्दै अघिल्लो चरणमा प्रवेश गरेको हो । पराग्वे भने तीन अङ्कका साथ तेस्रो स्थानमा छ ।