विश्वकप तथा एसियन कप छनोटको समूह चरणको अन्तिम खेलमा नेपालले शुक्रबार (भोलि) बलियो टिम अस्ट्रेलियाको सामना गर्दै छ । कुवेत सिटीस्थित जाबेर अल अहमद अन्तर्राष्ट्रिय स्टेडियममा हुने उक्त खेल राति ९ः४५ बजे सुरु हुनेछ ।
यस खेलका लागि नेपाली टोली युद्धस्तरमा प्रशिक्षणमा जुटेको छ । बिहीबार खेलको पूर्वसन्ध्यामा नेपाली टोलीले दुवईस्थित अल नासर स्पोर्टिङ क्लबमा प्रशिक्षण गरेको छ । अन्तिम तथा निर्णायक खेल भएका कारण पनि टोलीले युद्धस्तरमा प्रशिक्षण गरेको हो ।
नेपालले विश्वकप छनोटको तेस्रो चरणमा पुग्ने मौका गुमाइसकेको छ । तर नेपालको प्ले अफको माध्यमबाट एसियन कप छनोटको तेस्रो चरण पुग्ने सम्भावना भने बाँकी छ । समूह ‘बी’मा नेपाल चौथो स्थानमा छ । नेपालसँग ६ अङ्क छ ।
यस खेलअघि नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले अस्ट्रेलियाविरुद्धको खेल महत्त्वपूर्ण भएको बताएका छन् । यस्तै राष्ट्रिय टोलीका खेल्न बाँकी रहेका युवा खेलाडीहरूले अस्ट्रेलियाविरुद्ध खेल्ने सम्भावना रहेको पनि बताए । ‘पक्कै पनि, यदि सबै कुरा राम्रो भएमा उनीहरूले पनि खेल्ने छन् । मलाई थाहा छ अस्ट्रेलियाविरुद्धको खेल कठिने हुनेछ तर उनीहरू खेल्नु महत्त्वपूर्ण छ’, उनले भने ।
‘आशा गरौँ कि अस्ट्रेलियाविरुद्धको खेल राम्रो हुनेछ । हाम्रो खेल्ने शैलीमा सुधार भएको छ र हामीले हाम्रा समर्थकलाई खुसी पार्न सकेका छौँ’, उनले थपे, ‘नयाँ खेल्ने शैलीको अहिले नतिजा आउन थालेको छ । तर छोटो समयमा केही पनि सजिलो हुँदैन । फुटबलमा नतिजा पनि उत्तिकै महत्त्वपूर्ण हुन्छ । हामीले भविष्यमा अझ राम्रो नतिजा दिन सक्ने छौँ ।’
इराकविरुद्धको खेलपछि कुवेत पुगेको नेपाली राष्ट्रिय टिम आइतबार स्वदेश फर्कने कार्यक्रम छ ।
नेपाली टिमः
गोलरक्षक : किरण चेम्जोङ, विशाल सुनार र दीप कार्की
डिफेन्डर : रोहित चन्द, अनन्त तामाङ, दिनेश राजवंशी, गौतम श्रेष्ठ, सुमन अर्याल र विकास खवास
मिडफिल्डर : विशाल राई, मनिष डाँगी, एरिक विष्ट, कमल थापा, सन्तोष तामाङ, सुमन लामा, सुनिल बल, सुरजजिउ ठकुरी, पुजन उपरकोटी र आयुष घलान
फरवार्ड : अभिषेक रिजाल, अन्जन विष्ट, नवयुग श्रेष्ठ र आशिष लामा
तस्विरहरु
सबै तस्विरहरु एन्फाबाट लिइएका हुन् ।