कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर ८ का देवकी बम अहिले बिना काम घरमै थन्किएकी छिन् । उनी अटोरिक्सा चालक हुन् । कोरोनाको दोस्रो लहरसँगै सरकारले लकडाउन गरेपछि यातायात क्षेत्र पनि ठप्प भएको छ । देवकी पनि एक महिनाभन्दा बढीदेखि घरमा अटोरिक्सा थन्क्याएर बसेकी छिन् ।
उनी एकल महिला हुन् । उनका दुई छोराछोरी छन् । उनले तीन वर्षदेखि अटोरिक्सा चलाएर छोराछोरीको लालन पालन गर्दै आएकी छिन् । श्रीमानको मृत्युपछि देवकीमाथि दुई सन्तानको लालन पालन, शिक्षादीक्षाको जिम्मेवारी आइपर्यो । घरको आर्थिक अवस्था कमजोर रहेको उनलाई छोराछोरी कसरी हुर्काउने भन्ने चिन्ता छायो । उनले भनिन– धेरै सोचे । केही पनि विकल्प पाइन । अन्त्यमा अटोरिक्सा चलाउने निर्णयमा पुगे ।
देवकीले अटोरिक्सा चलाएको तीन वर्ष पुगिसकेको छ । ‘सुरुका केही महिना केही गाह्रो भयो’ उनले हैरान हुँदै भनिन– पछि ठिकठिकै हुँदै थियो । तर, गत वर्ष कोरोनाका कारण लामो लकडाउन भयो । बल्लतल्ल फेरि काम गर्दै थिएँ, यस पटक फेरि लकडाउन भएको छ । अब कसरी बालबच्चा पाल्ने ?
देवकीले तीन वर्षअघि तीन लाख ५० हजार रुपैयाँ ऋण लिएर एउटा अटोरिक्सा किनेको बताइन् । उनले भनिन– त्यो ऋण त तिरिसके, तर छ महिनाअघि २० हजार रुपैयाँमा किनेको ब्याट्रीको रकम अझैँ कम्पनीलाई तिर्न सकेकी छैन । सामान्य रूपमा पनि मासिक घर खर्चमा १० हजार रुपैयाँ जति तिर्नुपर्छ । अटोरिक्साको अझैँ सात हजार रुपैयाँ तिर्न बाँकी नै छ ।
उनीसँग सम्पत्तिको नाममा ६ धुर जमिन र त्यसमा बनेको सानो घर मात्रै हो । अटोरिक्सा नै उनको परिवारको गुजाराको एक मात्रै सहारा हो । अटोरिक्सा चलाउन पाएको बेला उनले दैनिक सरदर एक हजार रुपैयाँ आम्दानी हुने गरेको बताइन् । दुई महिना भइसक्यो । अटोरिक्सा घरमै थन्किएको छ । आम्दानीको अरू केही पनि बाटो छैन । बालबच्चाका लागि दुई छाक जुटाउन पनि धौ धौ भइसक्यो ।
निषेधाज्ञाका कारण मजदूरलाई समस्या,रोग भन्दा भोकको चिन्ता
कैलालीमा जारी निषेधाज्ञाका कारण मजदूरलाई समस्या पर्न थालेको छ ।...
शनिवार, जेठ ८ २०७८गत वर्ष झण्डै पाँच महिना लकडाउन भएपछि निकै कष्ट बेहोरेको बताउँदै उनले भनिन– लकडाउनको वेला निकै दुःख भोग्यौ । लकडाउन खुलेपछि काम गर्न थाले । केही सुधार हुँदै थियो, अहिले फेरि सरकारले वैशाख १६ गतेदेखि लकडाउन गरेपछि के गर्ने ? भन्ने भएको छ ।
स्थानीय सरकार (धनगढी उपमहानगरपालिका) ले गत वर्ष लकडाउनका कारण प्रत्यक्ष रूपमा प्रभावित भएका मजदुर, विपन्न वर्ग तथा अन्य वर्गलाई लक्षित गरेर राहतको व्यवस्था गरेको थियो । तर, यस वर्ष कोही पनि स्थानीय सरकारले कुने पनि किसिमको राहत प्रदान गरेका छैनन् । उनले भनिन– गत वर्ष वडा कार्यालयले २० किलो चामल, दुई पोका तेल, एक पोका नुन र दुई किलो दाल दिएको थियो । यस वर्ष कसैले पनि कुनै चासो दिएनन् ।
देवकीको जस्तै धनगढी उपमहानगरपालिका वडा नम्बर १ बसन्तटोलका धर्मसिंह कुँवरको पनि अवस्था छ । उनी पनि अटोरिक्सा चलाएर चार जनाको परिवारको लालन पालन गरिरहेका छन् । सरकारले वैशाखको दोस्रो सातादेखि गरेको लकडाउनका कारण उनी पनि अटोरिक्सा थन्क्याएर घरमा बेकामे भएर बसेका छन् ।
गत वर्ष पनि चार महिना बढी अटोरिक्सा थन्क्याउनु परेको स्मरण गर्दै उनले भने– अहिले लकडाउन छ । एकातिर डेढ महिना बढीदेखि काम गर्न पाएको छैन । घरमै लामो समय थन्क्याउनु पर्दा अटोरिक्साको पार्टपुर्जा बिग्रिन्छन् कि भन्ने चिन्ता छ ।
धर्मसिंहले अटो किन्दाखेरि लिएको ऋण तिरिसकेका छन् । तर, गत फागुन महिनामा ८५ हजार रुपैयाँ मूल्यको अटोरिक्साको ब्याट्री किनेकोले मासिक १० हजार रुपैयाँ किस्ता तिर्नु परिरहेको छ । उनले भने– कोरोना महामारी अझैँ बढिरहेको छ । कहिलेसम्म घरमै थन्किनु पर्ने हो ? ठेगान छैन । ब्याट्रीको मासिक किस्ता र घर भाडा सहित कम्तीमा मासिक २५ देखि ३० हजार रुपैयाँ खर्च आउँछ । कहाँबाट ल्याउने ?
उनले अटोरिक्सा चलाएर दैनिक ११-१२ सय रुपैयाँ आम्दानी हुने गरेको बताए । लामो समयसम्म अटोरिक्सा चलाउन नपाउँदा दैनिक आम्दानी मात्रै रोकिएको छैन, ब्याट्री बिग्रिने, पाङ्ग्रा मक्किने र फलाममा खिया लाग्ने समस्या हुने गरेको छ । ‘दुईचार दिन अटोरिक्सा नचलाएर खडा राख्दा पनि ब्याट्री बिग्रिएर स्टार्ट गर्दा समस्या हुने गर्दछ’ उनले भने– अहिले त महिना दिनभन्दा बढी हुन लागिसक्यो, पाङ्ग्रा चक्का पनि मक्किन लागिसके ।’
नेपालमा कोरोनाको दोस्रो लहर तीव्र गतिमा फैलिएपछि कैलालीमा पनि वैशाख १६ गतेदेखि लकडाउन लागू गरिएको छ । यससँगै दैनिक ज्यालामा काम गर्ने मजदुर, यातायात मजदुर, साना व्यवसायी सहितका विपन्न वर्ग अफ्ठेरोमा परेका छन् । यी वर्गसँगै अटोरिक्सा चालकहरू पनि बेहाल भएका छन् ।
ऋणको ब्याज किस्ता तिर्नै कठिनाइ
कोरोना महामारीको दोस्रो लहर पहिलो लहरको तुलनामा निकै डरलाग्दो ढंगले फैलिएको छ । धनगढीसहित सिङ्गो सुदूरपश्चिम प्रदेश पनि कोरोनाको दोस्रो लहरबाट निकै आक्रान्त बनेको छ । नेपाल अटोरिक्सा तथा ठेल्ला व्यवसायी सङ्घ कैलालीको तथ्याङ्क अनुसार अहिले जिल्लामा चार हजार एक सय बढी अटोरिक्सा दर्ता भएका छन् । त्यस्तै, धनगढीमा मात्रै दुई हजार बढी अटोरिक्सा सञ्चालनमा छन् । कोरोना महामारीसँगै अटोरिक्सा पनि पूर्ण रूपमा ठप्प भएका छन् । चालकहरू कामविहीन बनेका छन् ।
कैलालीमा अटो रिक्सामा मात्रै झण्डै दुई अर्ब रुपैयाँ लगानी भएको छ । नेपाल अटोरिक्सा तथा ठेला व्यवसायी सङ्घ कैलालीका अध्यक्ष लालबहादुर विकका अनुसार कैलालीमा पेट्रोलले चल्ने एक हजार पाँच सय तथा ब्याट्रीबाट चल्ने दुई हजार छ सय अटोरिक्सा सञ्चालनमा रहेका छन् । अध्यक्ष विकका अनुसार पेट्रोलबाट चल्ने अटोरिक्साको बजार मूल्य पाँच लाख ८० हजार र ब्याट्रीबाट चल्ने अटोरिक्साको मूल्य तीन लाख ८० हजार रुपैयाँ रहेको छ ।
अध्यक्ष विकले कोरोना सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि गरिएको लकडाउनका कारण ९५ प्रतिशत अटोरिक्सा घरमै थन्किएको बताए । सङ्घका अध्यक्ष विकका अनुसार धेरैजसो अटोरिक्सा चालकले अटोरिक्सा खरिद गर्न आफ्नो घरजग्गा बैङ्क वा वित्तीय संस्थामा धितो राखेर ऋण लिएका छन् ।
निषेधाज्ञामा छाक टार्न सकस : रोग भन्दा भोकको चिन्ता
दुई बोतल पानी हातमा र बोकेर हिँड्न सक्ने जति केही...
बिहीबार, जेठ २० २०७८कोरोना महामारी रोकथामका लागि लकडाउन लागू गरिएपछि मजदुर स हित विपन्न वर्ग निकै प्रभावित भएका छन् । कोरोनाको पहिलो लहरमा गत वर्ष स्थानीय सरकारहरू तथा विभिन्न सघसंस्थाले प्रभावित व्यक्ति, वर्ग तथा समुदायलाई राहत वितरण गरे पनि यस पटक कसैले पनि चासो लिएका छैनन् ।
धनगढी उपमहानगरपालिकाको तथ्याङ्कमा गत वर्ष सबै १९ वडाका गरी करिब १२ हजार जनालाई राहत सामग्री वितरण गरिएको थियो । उपमहानगरपालिका प्रमुख नृपबहादुर वडले गत वर्ष राहत वितरणमा करिब १० करोड रुपैयाँ खर्च भएको थियो । धनगढी उपमहानगरपालिकाले गत वर्ष दुई चरणमा गरी एक परिवारलाई ३० किलो चामल, पाँच किलो दाल, पाँच लिटर तेल, १० किलो चिनी, हात धुने साबुन, लगायतका सामग्री सहयोग गरेको बताए ।
उपमहानगरपालिका प्रमुख वडका अनुसार गत वर्ष लकडाउनबाट प्रत्यक्ष प्रभावित विपन्न वर्ग तथा समुदायलाई राहत वितरण गर्न उपमहानगरपालिकाले आन्तरिक कोषबाट चार करोड रुपैयाँ तथा सङ्घीय र प्रदेश सरकार एवं अन्य विभिन्न सङ्घसंस्थाको सहयोग सहित पाँच करोड रुपैयाँ मूल्य बराबरको राहत सामग्री वितरण गरेको थियो ।
नगर प्रमुख वडले यस पटक भने कोरोना प्रभावित विपन्न वर्गलाई कुनै पनि किसिमको राहत वितरण गर्न नसकिएको स्वीकार गरे । उनले भने– कोरोनाको पहिलो लहरमा हामीले गत वर्ष राहत वितरण कार्यलाई पहिलो प्राथमिकता राखेर काम गर्यौँ, तर यस पटक भने कोरोना महामारीबाट सङ्क्रमित नागरिकको निःशुल्क औषधी उपचार, कोरोनाबारेका जनचेतनामूलक प्रचारप्रसार, कोरोना परीक्षणका लागि आवश्यक पर्ने परीक्षण किटको व्यवस्थापन, अक्सिजन प्लान्ट निर्माण लगायतका कार्यमा जुट्नु पर्यो ।
उनका अनुसार यी सबै कार्यमा उपमहानगरपालिकाले अहिलेसम्म डेढ करोड रुपैयाँ बढी खर्च गरिसकेको छ । नगर प्रमुख वडले सो रकममध्ये उपमहानगरपालिकाको आन्तरिक स्रोत, प्रदेश सरकारको सहयोग तथा विभिन्न सामाजिक संघसंस्थाहरूको सहयोग रहेको छ ।
उनले थपे– कोरोना महामारी नियन्त्रण र रोकथामका लागि कोष स्थापना गर्नु आवश्यक ठानेर अहिले हामीले त्यसतर्फ बढी ध्यान केन्द्रित गरेका छौँ ।’ ‘हामीले कोरोना भाइरस विरुद्धको खोप खरिदका लागि सङ्घीय सरकारसँग अनुमति पनि मागेका छौँ ।’