दुई बोतल पानी हातमा र बोकेर हिँड्न सक्ने जति केही बोतल पानी झोलामा राखेर मानिसहरू रोकिएको ठाउँ–ठाउँमा गएर ‘पानी–पानी’ भन्दै थिए, सोमबहादुर सुनार । ‘पानी आयो हजुर पानी’ उनी भन्थे । उनको पानी खासै बिक्री भएको देखिँदैन थियो । कोरोना सङ्क्रमणका कारण सहज वातावरण नबनिसकेकाले पनि होला, अन्य समयको जस्तो बोतलको पानी बिक्री राम्रो थिएन ।
तर पनि उनी मानिसहरू भएको ठाउँमा गएर सोधिहाल्थे, ‘पानी लिऔँ हजुर ?’ कसैले केही बोल्दैनन् । कोहीले टाउको हल्लाउँदै नखाने सङ्केत गर्थे । फाटफुट रूपमा केहीले मात्रै उनीबाट पानी किनेर खाएको देखिन्थ्यो । यो कैलाली–कञ्चनपुरको सीमा गौरीफन्टा नाकामा एक/डेढ घण्टाको अवधिमा देखिएको दृश्य हो । कञ्चनपुरको पुनर्वास नगरपालिका– ११ का सुनारको दिनचर्या अहिले यसरी नै गौरीफन्टा नाकामा बित्छ ।
कोरोना सङ्क्रमणको डर र त्यसैमाथि जारी निषेधाज्ञाका कारण मानिसहरू घरमै सुरक्षित भएर बसिरहेका बेला उनी भने दैनिक गौरीफन्टा नाकामा देखिन्छन् । निषेधाज्ञाअघि उनी गौरीफन्टा नाकादेखि धनगढी बजारसम्म रिक्सा चलाउँथे । रिक्सामा वारिपारि यात्रु ओसार्थे । दैनिक दुई/चार सय रुपैयाँ आउँथ्यो । पाँच जनाको परिवारको साँझ–बिहानको छाक टार्न पुगेकै थियो ।तर निषेधाज्ञा जारी भएपछि उनको आम्दानी ठप्प भयो ।
आयस्रोत रोकिएपछि परिवार पाल्न गाह्रो पर्यो । अब घर परिवार के गरी पाल्ने ? उनलाई चिन्ता पर्यो । पछि उनले सोचे नाकामै गएर दुई/चार पैसा आम्दानी हुने बाटो । किनकि अन्यत्र मानिसहरू नै हुँदैन थिए । निषेधाज्ञा जारी भएको केही समयसम्म बाहिर निस्किन उनलाई पनि डर थियो ।
त्यसैमाथि नाकामा भारतबाट आउने नेपालीमा दैनिक सङ्क्रमण देखिइरहेको अवस्था थियो । घर पनि गौरीफन्टा नाका नजिकै । ‘नाका हुँदै दैनिक सङ्क्रमित नेपाल प्रवेश भइरहेका बेला कसरी के गर्ने भन्ने सोच्न गाह्रो भयो,’ उनी भन्छन्, ‘तरकारी, फलफूल, पानी के बेच्ने भन्ने सोच्न थालेँ ।’
तर सोमबहादुरका लागि भोकभन्दा ठुलो रोग भएन । रोगलाई भोकले जित्यो । भोकले उनलाई बाहिर निस्कन बाध्य पार्यो । निषेधाज्ञा जारी भएको केही समयपछि आफू र आफ्नो परिवारको भोक मेटाउन सुरुमा काँक्रा बेच्न सुरु गर्ने निधो गरे उनले ।
काँक्रा खरिद गरेर गौरीफन्टा नाका र आसपासमै गएर बेच्न सुरु गरे । उनलाई केही राहत भयो । तर काँक्रा बेचेर आउने थोरै नाफाले पुरै भोक मेट्न भने सकेन ।निषेधाज्ञामा काँक्राको व्यापार राम्रो चलेन । अहिले उनी नाकामै गएर पानीका बोतल बेच्न थालेका छन् । तर खासै बिक्री हुँदैन । यसबाट पनि उनलाई परिवार पाल्न भने सहज छैन ।
‘पेटकै लागि दिनभर पानी बेचेर आएको केही पैसाले मात्रै परिवार पाल्न गाह्रै छ,’ उनी भन्छन्, ‘यो समयमा ज्यानको बाजी राखेर नै नाकामा आउनुपर्छ । भोकले रोग देखेन । अन्यत्र गएर पानी बेच्ने ठाउँ छैन पनि । बाहिर मानिसहरू भए पो ठाउँ ।’ निषेधाज्ञाले केही समयका लागि भए पनि उनको पेशा बदलियो । सन्तुष्टि हुन नसक्ने बाध्यात्मक पेशा । निषेधाज्ञा खुलेपछि फेरि त्यही रिक्सा चलाउन आतुर छन्‚ उनी । जसबाट आएको केही पैसाले परिवारको भेट भर्न सकियोस् ।
गौरीफन्टा नाकामा उनी मात्रै होइन‚ यसरी केही न केही बेर दैनिक गुजारा चलाउने अन्य व्यक्तिहरू पनि छन् । कसैले बिस्कुट, चाउचाउ त कसैले मकै, गुट्खा, पानीलगायत बेचेर दुई/चार पैसा आम्दानी गरिरहेका छन् । उनीहरू कसैलाई पनि यो निषेधाज्ञामा कोरोना सङ्क्रमणको डरका बिच बाहिर निस्किने इच्छा छैन । तर पनि भोको पेट भर्ने प्रयास गरिरहेका छन् उनीहरू ।
‘दिनभर एक प्याकेट मेघाश्री बेच्न सके पनि त्यसबाट आएको नाफाले पेट भर्न सकिन्थ्यो होला,’ नाकामै बसेर मेघाश्री बेचिरहेकी धनगढीको मिलन चोक डेरा गरी बस्ने ४० वर्षीया गायत्री शर्मा दुखेसो पोख्छिन्, ‘कोरोनाका कारण लगाइएको निषेधाज्ञाले काम गरेर खाने वातावरण पनि रहेन ।’ उनी अगाडि भन्छिन्, ‘कसैले भाँडा माझ्ने काम दिएको भएपनि भोक टार्न सकिन्थ्यो होला । अहिले त्यो काम पनि कसैले दिँदैनन् ।’ निषेधाज्ञाअघि दाउरा बेचेर गुजारा चलाउने शर्मा पनि अहिले नाकामा आएर कहिले पानी त कहिले मेघाश्री बेच्न थालेकी हुन् ।
उमेर ४० मात्रै कटेकी शर्माको कोही छैनन् । उनी एक्लै कोठा लिएर भाडामा बस्छिन् । भएकी एउटी छोरी पनि यसअघि नै बिहे गरेर गएपछि उनी एक्ली भएकी छन् । अहिले आफ्नो भेट भर्न र कोठा भाडा तिर्न निकै अप्ठेरो भएको छ । ‘पहिले त नगरपालिकाले राहत बाँडेको थियो, केही सहज पनि भएको थियो,’ उनी भन्छिन्, ‘यस वर्ष कसैले पनि राहतका नाममा केही पनि दिएका छैनन् ।’
विश्वभर महामारीका रूपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रणका लागि अहिले कैलाली–कञ्चनपुरमा पनि निषेधाज्ञा जारी गरिएको छ । जसले गर्दा दैनिक मजदुरी गरेर साँझ–बिहानको छाक टार्ने वर्ग मर्कामा परेको छ ।
पहिलो चरणको कोरोना फैलिएका बेला गरिएको लकडाउनका क्रममा स्थानीय तथा तथा विभिन्न संघ–संस्थाहरूले राहत वितरण गरे पनि यस वर्ष भने रोकिएको छ । विपन्न वर्गलाई राहत वितरण गर्ने कार्य सरकारले नै अगाडि बढाएको छैन । जसले गर्दा विपन्न वर्गलाई अहिले छाक टार्न समस्या परेको हो ।