काठमाडौंबाट इन्धन लिन भारत जान लागेको ट्याङकरबाट प्रहरीले ठूलो परिमाणमा लागु औषध बरामद गरेको छ। भारतको बरौनी जान हिँडेको ना ४ ख २९७९ नम्बरको खाली ट्याङकरबाट १९ वटा पोकामा रहेको २ क्विन्टल १८ केजी गाजा प्रहरीले बरामद गरेको हो।
गोप्य सूचनाका आधारमा बुधबार दिउँसो खटिएको प्रहरी टोलीले बाराको पथलैयास्थित महमद आलम साहको रामरहिम ग्यारेजमा रोकेर राखिएको उक्त ट्यांङकरको च्याम्बर भित्र लुकाएर राखिएको २ क्विन्टल १८ केजी गाजा बरामद गरेको हो। प्रहरीले गाजासहित ट्याङकरका चालक महोत्तरीको बर्दिवास नगरपालिका ८ का ३३ वर्षीय घनश्याम गिरी र सहचालक चितवनको खैरहनी नगरपालिका २ का राजकुमार दवाडीलाई पनि पक्राउ गरेको छ।
पथलैयास्थित ग्यारेजमा रोकेर राखिएको ट्याङकरमा प्रहरीले चेकजाँच गर्दा च्याम्बरभित्र लुकाएर राखिएको गाजा बरामद भएको ट्याङकरसहित चालक र सहचालकलाई जिल्ला प्रहरी कार्यालय बाराको नियन्त्रणमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
सबै तस्विर : पत्रकार साजिर मन्सुरको फेसबुकबाट