रोल्पामा मङ्गलबार ५५ जना कोरोना सङ्क्रमित थपिएका छन् भने २० जना निको भएका छन् । स्वास्थ्य सेवा कार्यालय रोल्पाले सार्वजनिक गरेको पछिल्लो २४ घण्टाको तथ्याङ्क अनुसार ५५ जनामा संक्रमण पुष्टि हुँदा २० जना निको भएका हुन् । यससँगै रोल्पामा सक्रिय सङ्क्रमितको संख्या ८०१ पुगेको छ ।
१२ स्वास्थ्यकर्मी र ३ सुरक्षाकर्मी संक्रमित
रोल्पामा कोरोनाको दोस्रो लहर फैलिएपछि कोभिड–१९ विरुद्ध अग्रपंक्तिमा रहेर काम गर्ने १५ जना स्वास्थ्यकर्मी र सुरक्षाकर्मी कोरोनावाट संक्रमित भएका छन्। यसरी संक्रमित हुनेहरुमा १२ जना स्वास्थ्यकर्मी र ३ जना सुरक्षाकर्मी रहेका छन् ।
कोरोनाको दोश्रो लहरसंगै वैशाख तेश्रो हप्तापछि रोल्पामा देखिन थालेको संक्रमणले भयावाह रुप लिएपछि फ्रन्टलाइनमा काम गर्ने स्वास्थ्यकर्मी र सुरक्षाकर्मी प्रभावित भएका हुन् । स्वास्थ्य सेवा कार्यालय रोल्पाका अनुसार जिल्लामा रहेका झण्डै ४ सय स्वास्थ्यकर्मी मध्ये हालसम्म १२ जना संक्रमित भई विभिन्न ठाउँमा रहेका आईसोलेशन र होम आइसोलेशनमा बसेका छन् ।
“कोरोना संक्रमितहरुको उपचारमा संलग्न रहेका बेला उनीहरू संक्रमित भएका हुन्,” स्वास्थ्य कार्यालय रोल्पाका कार्यालय प्रमुख नोखराज पोख्रेलले केटिएम दैनिकसँग भने । पहिलो पंक्तिमै रहेर कोरोना विरुद्ध लडिरहेका रोल्पाका ३ जना प्रहरी पनि संक्रमित भएका जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी नायव उपरिक्षक नरेशराज सुवेदीले जानकारी दिए ।
संक्रमितहरुका लागी जिल्ला प्रहरी परिसर भित्र १० वेडको आईसोलेशन केन्द्र पनि स्थापना गरिएको सुवेदीले जानकारी दिए । रोल्पामा ४४८ जना प्रहरी कार्यरत रहेका छन् ।