इन्डियन प्रिमियर लिग (आइपिएल) टी–ट्वान्टी क्रिकेट प्रतियोगिता स्थगित भएसँगै आइपिएलमा सहभागी अष्ट्रेलियाका खेलाडी, प्रशिक्षक तथा विश्लेषकसहितको टोली माल्दिभ्स प्रस्थान गर्न लागेका छन् ।
मङ्गलबार १४औँ संस्करणको आइपिएलका बाँकी खेल स्थगित भएको हो । भारतीय क्रिकेट बोर्ड बिसिसिआईले कोरोना भाइरस महामारीका कारण आइपिएल स्थगित गरेको हो । आइपिएल स्थगित भएसँगै उनीहरू माल्दिभ्स जाने भएका हुन् ।
कोरोनाकै कारण अस्ट्रेलियाले भारतबाट फर्कने आफ्नो नागरिकलाई पाँच वर्ष कैद र जरिवाना निर्धारण गरेपछि अस्ट्रेलिया पुग्ने बाटो बन्द हुँदा खेलाडी माल्दिभ्स प्रस्थान गर्न लागेका हुन् ।
प्याट क्युमिन्स, स्टिभ स्मिथ, ग्लैन म्याक्सवैल, रिक्की पोन्टिङ, साइमन कैटिचलगायतका खेलाडी तथा प्रशिक्षक माल्दिभ्स जान लागेका हुन् । यस्तै डेन क्रिश्चियन भने हाल भारतमा नै बस्नेछन् । उनले बेलायतमा खेल्ने सम्झौता गरेकोमा भारतबाट एकैपटक बेलायत प्रस्थान गर्ने बताइएको छ ।
अस्ट्रेलियाले मई १५ सम्म आफ्नो नागरिकलाई समेत फर्कन प्रतिबन्ध लगाएको छ । माल्दिभ्समा १५ दिनसम्म क्वारेन्टाइनमा बसेपछि अस्ट्रेलिया फर्किने वातावरण भए खेलाडी नीजि विमानबाट नै अस्ट्रेलिया फर्किने बताइएको छ ।